क्याम्पस र प्रतिष्ठानबीच शैक्षिक तथा अनुसन्धान सहकार्यको लागि सम्झौता

स्वर्णिम खबर
४ असार २०८३, बिहीबार १७:१६

४ असार, हेटौँडा । शैक्षिक गुणस्तर, अनुसन्धान र विद्यार्थी क्षमता विकासलाई लक्षित गर्दै मकवानपुर बहुमुखी क्याम्पस र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार क्याम्पसमा आयोजित कार्यक्रममा क्याम्पसका तर्फबाट प्रमुख डा. यमबहादुर सिलवाल र प्रतिष्ठानका तर्फबाट रजिष्ट्रार भीमसागर गुरागाईंले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई एमबीबीएस अध्ययनका लागि आवश्यक प्रवेश परीक्षा तयारी कक्षाहरू सञ्चालनमा सहयोग गरिनेछ। साथै स्वास्थ्य तथा चिकित्सा शिक्षासम्बन्धी करियर परामर्श प्रदान गर्ने, विद्यार्थीहरूलाई चिकित्सा विज्ञानसँग सम्बन्धित सभा, सेमिनार, कार्यशाला, अनुसन्धान तथा नवप्रवर्तनका कार्यक्रममा सहभागी गराउने व्यवस्था मिलाइनेछ ।
यस्तै, प्राध्यापकहरूको व्यावसायिक क्षमता अभिवृद्धि, स्वास्थ्यसम्बन्धी अध्ययन–अनुसन्धान तथा जर्नल प्रकाशनमा सहकार्य गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ । स्वास्थ्य विज्ञानका विविध विषयमा विशिष्ट शैक्षिक सत्र सञ्चालन गर्ने तथा अतिथि प्राध्यापकको व्यवस्था मिलाउने सहमति पनि भएको छ ।
सम्झौता अन्तर्गत विद्यार्थीहरूलाई अनुसन्धानसम्बन्धी फिल्डवर्क, व्यवहारिक सिकाइ तथा स्वास्थ्य विज्ञान क्षेत्रका विभिन्न गतिविधिमा संलग्न गराइनेछ । यसबाट विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव हासिल गर्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ । त्यसैगरी संयुक्त अनुसन्धान कार्यक्रम सञ्चालन, अनुसन्धान प्रस्ताव लेखन, अनुसन्धान विधि, तथ्याङ्क विश्लेषण, शैक्षिक लेखन तथा सामुदायिक स्वास्थ्यसँग सम्बन्धित अनुसन्धानका क्षेत्रमा समेत सहकार्य गरिनेछ ।
सम्झौतापछि आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा. डा. प्रदीप ज्ञवालीले सामाजिक उत्तरदायित्व बहन गर्दै स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने विषयहरूमा सहकार्य विस्तार गर्न प्रतिष्ठान इच्छुक रहेको बताउनुभयो। विद्यार्थीहरूले हासिल गरेका ज्ञान, सीप र सिकाइलाई व्यवहारमा रूपान्तरण गर्न प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।
त्यसैगरी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलले उक्त सम्झौताबाट क्याम्पस र प्रतिष्ठान दुवै लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । विगतको तुलनामा मकवानपुरको स्वास्थ्य क्षेत्रले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै उहाँले यस्ता सहकार्यले शैक्षिक तथा स्वास्थ्य क्षेत्रको विकासमा थप टेवा पुग्ने बताउनुभयो । सम्झौता हस्ताक्षर कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा क्याम्पसका पूर्व अध्यक्ष डोरमणि पौडेल, पूर्व अध्यक्ष माईकल रामचन्द्र अर्याल, सञ्चालक समिति सदस्य नवराज बिष्ट, डिन डा. इन्दिरा अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायत क्याम्पसका प्राध्यापक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*