थाहा नगरपालिकाबाटै करसम्बन्धी आधारभूत सेवा सुरु
४ असार, हेटौँडा । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा नगरपालिकाबाटै उपलब्ध हुने भएका छन् ।
करसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाट प्रवाह गर्ने सम्बन्धी कार्यविधि, २०८२” बमोजिम थाहा नगरपालिकाले बिहीबारदेखि औपचारिक रूपमा सेवा शुभारम्भ गरेको हो ।
नगरपालिकामा आयोजित कार्यक्रममा सेवाग्राहीलाई प्यान प्रमाणपत्र वितरण गर्दै सेवाको उद्घाटन गरिएको थियो । अब नयाँ प्यान नम्बर जारी, बायोमेट्रिक दर्ता, राजस्व भुक्तानी, कर चुक्ता लगायतका आधारभूत करसम्बन्धी सेवाहरू थाहा नगरपालिकाबाटै प्राप्त गर्न सकिने भएको छ ।
सेवा शुभारम्भ कार्यक्रममा आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदी, थाहा नगरपालिका प्रमुख विष्णुबहादुर विष्ट, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल तथा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा थाहा नगरपालिका–३ निवासी राधिका रायमाझीलाई व्यक्तिगत प्यान कार्ड तथा बीएम एकीकृत कृषि तथा पशुपन्छी फार्म र फुर्सोमाटा कृषि तथा पशुपन्छी फार्मलाई व्यावसायिक प्यान नम्बर प्रदान गरिएको थियो ।
थाहा नगरपालिका प्रमुख विष्णुबहादुर विष्टले स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीले हेटौंडासम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । नगरवासीलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्नु आफुहरुको प्राथमिकता रहेको उहाँको भनाई छ । प्रमुख विष्टले करसम्बन्धी आधारभूत सेवा नगरपालिकाबाटै उपलब्ध हुनु संघीयताको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण उदाहरण भएको उल्लेख गर्नुभयो । त्यसैगरी आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले कर प्रशासनलाई नागरिकको घरदैलोमा पु¥याउने उद्देश्यअनुसार स्थानीय तहसँगको सहकार्यमा सेवा विस्तार गरिएको जानकारी दिनुभयो ।
स्थानीय तहबाट सेवा प्रवाह हुँदा करदाताको सहभागिता बढ्नुका साथै कर प्रणालीप्रति विश्वास र पहुँच पनि विस्तार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी पूरा गरेको जनाएको छ। स्थानीय स्तरमै सेवा उपलब्ध हुन थालेपछि थाहा नगरपालिका सहित आसपासका क्षेत्रका नागरिक तथा व्यवसायीहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।













