बागमतीको आर्थिक सर्वेक्षणः आर्थिक वृद्धिदर ५.४ प्रतिशत रहने अनुमान
३१ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक सर्वेक्षण पेस गरिएको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशसभाको बैठकमा प्रदेशको समग्र आर्थिक स्थितको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
सर्वेक्षण अनुसार चालू आर्थिक वर्ष ०८२÷८३ मा प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ भने प्रदेशको कुल अर्थतन्त्र (कुल गार्हस्थ्य उत्पादन) २४ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको छ ।
मन्त्री तामाङले प्रदेशको आर्थिक, सामाजिक तथा भौतिक विकासका सूचकहरू उल्लेख गर्दै बागमतीले राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा ठुलो योगदान पु¥याइरहेको बताउनुभयो ।
सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएकामा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । नेपालको कुल अर्थतन्त्र ६६ खर्ब नौ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ भने त्यसको ३६.७ प्रतिशत अर्थात् २४ खर्ब २३ अर्ब १२ करोड रुपैयाँ हिस्सा बागमती प्रदेशको रहनेछ ।
आर्थिक सर्वेक्षणले बागमती प्रदेशका नागरिकको औसत आय राष्ट्रिय औसतभन्दा उल्लेख्य रूपमा माथि रहेको देखाएको छ । चालू आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ५१३ अमेरिकी डलर रहने अनुमान गरिएकामा बागमती प्रदेशको प्रतिव्यक्ति आय दुई हजार ६४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको प्रभुत्व कायमै रहेको उल्लेख गर्दै आर्थिक मामिला मन्त्री तामाङले कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ७६.६ प्रतिशत रहने अनुमान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान १२.२ प्रतिशत र कृषि क्षेत्रको योगदान ११.२ प्रतिशत रहने अनुमान गरिएको छ ।
मन्त्री तामाङले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षको फागुनसम्म बागमती प्रदेशको मुद्रास्फीति ३.६२ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।
पछिल्ला वर्षको तुलनामा मुद्रास्फीति नियन्त्रणको अवस्थामा देखिए पनि उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धिले नागरिकलाई असर पारिरहेको सर्वेक्षणले औँल्याएको छ ।
प्रदेश सरकारको खर्चको अवस्था भने अपेक्षाअनुसार नदेखिएको आर्थिक सर्वेक्षणमा मन्त्री तामाङले उल्लेख गर्नुभयो । उहाँका अनुसार फागुन मसान्तसम्म प्रदेश सरकारको कुल खर्च १५ अर्ब पाँच करोड आठ लाख रुपैयाँ पुगेको छ, जुन वार्षिक विनियोजनको २२.३० प्रतिशत मात्र हो । यस अवधिमा चालूतर्फ ३०.५६ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फ १७.१२ प्रतिशत मात्रै खर्च भएको तथ्यांकले विकास बजेट कार्यान्वयन अझै सुस्त रहेको संकेत गरेको छ ।
प्रदेश सरकारले फागुनसम्म कुल आय, राजस्व बाँडफाँट र नगद मौज्दातसहित ३८ अर्ब ७८ करोड ७० लाख रुपैयाँ संकलन गरेको छ । यो वार्षिक अनुमानको ५७.४८ प्रतिशतबराबर हो । आर्थिक सर्वेक्षणले प्रदेशमा वित्तीय पहुँच विस्तार भएको उल्लेख गरेको छ । प्रदेशका सबै ११९ स्थानीय तहमा बैंक शाखा पुगेका छन् । हाल एउटा बैंक शाखाले औसत दुई हजार २९ जनालाई सेवा दिइरहेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
वित्तीय साक्षरताको अवस्था पनि राष्ट्रिय औसतभन्दा राम्रो देखिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । नेपालमा वित्तीय साक्षरता ५७.९ प्रतिशत रहेकामा बागमती प्रदेशमा यो दर ६४.५ प्रतिशत पुगेको मन्त्री तामाङले बताउनुभयो ।
प्रदेशको कुल जनसंख्याको ४४.५२ प्रतिशत कृषि पेसामा आबद्ध रहेको सर्वेक्षणले देखाएको छ । प्रतिकूल मनसुनका कारण यस वर्ष धान र गहुँ उत्पादनमा केही कमी आएको भए पनि अन्य खाद्यान्न तथा नगदे बालीको उत्पादन बढेको उल्लेख गरिएको छ । सिँचाइ पूर्वाधार विस्तारतर्फ पनि प्रगति भएको छ । फागुनसम्म प्रदेशका सिँचाइयोग्य जमिनमध्ये ५०.२६ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ ।
प्रदेश सरकारले सडक निर्माण र स्तरोन्नतिलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै चालू आर्थिक वर्षको फागुनसम्म १३.५४ किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । यसैगरी, ८२.१५ किलोमिटर ग्राभेल सडक स्तरोन्नति तथा १२६.०८ किलोमिटर कालोपत्रे सडक स्तरोन्नति गरिएको सर्वेक्षणमा उल्लेख छ भने नियमित तथा आवधिक सडक मर्मतसम्भारको काम पनि निरन्तर जारी रहेको मन्त्री तामाङले सर्वेक्षण मार्फत उल्लेख गर्नुभयो ।
बागमती प्रदेशमा वैकल्पिक ऊर्जासहित ९९.९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको उल्लेख गरिएको छ । यस्तै, प्रदेशका ९३.४० प्रतिशत घरधुरीमा आधारभूत खानेपानी सुविधा उपलब्ध भएको सर्वेक्षणले देखाएको छ भने विद्युत् तथा खानेपानी पहुँचका सूचकहरू राष्ट्रिय औसतभन्दा माथि रहेको प्रदेश सरकारले जनाइएको छ ।
मन्त्री तामाङले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत पुगेको छ । शैक्षिक सत्र २०८२ मा आधारभूत तह (कक्षा १–८) को खुद भर्नादर शतप्रतिशत पुगेको छ । माध्यमिक तह (कक्षा ९–१२) मा भने खुद भर्नादर ५१.८ प्रतिशत रहेको छ भने विद्यालय पहुँच बढे पनि माध्यमिक तहमा विद्यार्थी टिकाइराख्ने चुनौती अझै कायम रहेको सर्वेक्षणले संकेत गरेको छ ।
स्वास्थ्यतर्फ मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा ९८ रहेको छ । प्रदेश सरकारले स्वास्थ्य सेवा विस्तार तथा मातृ–शिशु स्वास्थ्य सुधारका कार्यक्रम सञ्चालन गरिरहेको सर्वेक्षणमा जनाइएको छ ।
आर्थिक सर्वेक्षणमा युवा उद्यमशीलता तथा सिप विकास कार्यक्रममार्फत स्वरोजगार प्रवद्र्धन भइरहेको उल्लेख गरिएको छ । प्रदेश सरकारले युवालाई उत्पादनमुखी क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ । प्रदेश सभा बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै मन्त्री तामाङले प्रदेशको आर्थिक, सामाजिक तथा भौतिक विकासका सूचकहरूले सकारात्मक दिशा समातेको दाबी गरे ।
६ वटा समितिको वार्षिक प्रतिवेदन पेस
बागमती प्रदेशसभामा ६ वटा संसदीय समितिको प्रतिवेदन पेस भएको छ । प्रदेशसभाका ६ वटा विषयगत समितिले तयार पारेका प्रतिवेदनहरू आइतबार बसेको प्रदेश सभा बैठकमा प्रस्तुत भएको हो ।
बैठकमा प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, अर्थ तथा विकास समितिका सभापति नुरज बज्राचार्य, शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले आ–आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । प्रदेशसभाको बैठक सोमबार दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको छ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने कार्यसूची रहेको छ ।













