स्थानीय र प्रदेश निर्वाचनमा रास्वपाले चमत्कारिक नतिजा हासिल गर्छः महामन्त्री बुर्लाकोटी

स्वर्णिम खबर
२६ जेष्ठ २०८३, मंगलवार १५:०३

२६ जेठ, हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले आगामी निर्वाचनमा नेपाली जनताले परम्परागत राजनीतिक अभ्यासको विकल्प खोज्ने र त्यसको प्रत्यक्ष लाभ रास्वपाले प्राप्त गर्ने दाबी गर्नुभएको छ ।
जनताको बढ्दो विश्वास, अपेक्षा र सहभागिताले आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा रास्वपाले चमत्कारिक नतिजा हासिल गर्ने आधार तयार भएको उहाँको भनाइ छ । रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई मंगलबार हेटौंडामा सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले मुलुकको राजनीतिक अवस्थाप्रति नागरिकहरूमा बढ्दो असन्तुष्टि देखिएको र त्यसको विकल्पका रूपमा रास्वपा स्थापित हुँदै गएको बताउनुभयो । जनताको अपेक्षा पूरा गर्ने सबैभन्दा प्रभावकारी माध्यम स्थानीय सरकार भएकोले सक्षम, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गलत व्यक्तिलाई उम्मेदवार बनाउँदा पार्टीको सिद्धान्त र जनताको विश्वास दुवै कमजोर बन्न सक्ने भन्दै उहाँले उम्मेदवार छनोटमा विशेष सावधानी अपनाइने स्पष्ट पार्नुभयो । महामन्त्री बुर्लाकोटीले रास्वपाले अवसरवादभन्दा योग्यतालाई प्राथमिकता दिने नीति अवलम्बन गरेको बताए । रास्वपा कुनै व्यक्तिको राजनीतिक करियर निर्माण गर्ने माध्यम नभई देशको भविष्य निर्माण गर्ने अभियान भएको पनि उहाँले उल्लेख गर्नुभयो ।


कार्यक्रममा बोल्दै पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वदायी क्षमताका कारण जनताले देखेको परिवर्तनको सपना साकार हुने वातावरण बनेको बताउनुभयो । सभापति र प्रधानमन्त्रीबीच कुनै प्रकारको मतभेद नरहेको स्पष्ट पार्दै उहाँले पार्टी र सरकार सञ्चालनका विषयमा नियमित छलफल र समन्वय भइरहेको जानकारी दिनुभयो । राष्ट्रिय जिम्मेवारी बोकेको दलका रूपमा रास्वपाले संयमता, परिपक्वता र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ थियो । देशको नेतृत्व गरिरहेको पार्टी भएकाले हरेक कदम सोचविचार गरेर अगाडि बढाइएको उहाँले बताउनुभयो ।
त्यसैगरी प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले नयाँ पुस्ताको राजनीतिक चेतना र जागरणबाट रास्वपाको उदय भएको बताउनुभयो । भदौ २३ र २४ गतेको आन्दोलनले नेपालमा नयाँ राजनीतिक संस्कार र संस्कृतिको सुरुवात गरेको उहाँको दाबी थियो । उहाँले पुराना राजनीतिक दलहरूले लामो समयसम्म देशलाई अपेक्षित दिशामा अघि बढाउन नसकेको आरोप लगाउनुभयो । जनताले परिवर्तनको अपेक्षासहित दिएको जनादेशलाई संस्थागत गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ थियो । आगामी महाधिवेशनपछि पार्टी संगठन थप व्यवस्थित, अनुशासित र प्रभावकारी बन्ने दाबी गर्दै उहाँले सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्न रास्वपा प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू जगदिश खरेल, तोसिमा कार्की, आशिका तामाङ, प्रकाश गौतम, प्रशान्त उप्रेती, समीक्षा बास्कोटालगायत केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता, कार्यकर्ता र प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*