पर्यटनको निरन्तर उचाइमा दोलखा
हिमालको सुनौलो किरणसँगै मुस्कुराउने गौरीशंकर, श्रद्धाले भरिने भीमेश्वर, बादलमाथि उभिएको कालिञ्चोक, सय थुम्काको रहस्य बोकेको शैलुङ र सगरमाथाको प्रवेशद्वार जिरी—यी सबैले दोलखालाई केवल एउटा जिल्ला नभई आस्था, इतिहास, संस्कृति र प्रकृतिको अनुपम संगमस्थल बनाएका छन् । पछिल्ला वर्षहरुमा सडक पहुँच, पर्यटकीय पूर्वाधारको विस्तार र धार्मिक गन्तव्यहरुको प्रवद्र्धनसँगै दोलखा धार्मिक तथा पर्यटकीय जिल्लाका रुपमा थप स्थापित हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र धार्मिक महत्वले भरिपूर्ण यो जिल्ला अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको प्रमुख गन्तव्य बनेको छ ।
दोलखा नेपालका प्राचीन ऐतिहासिक जिल्लामध्ये एक हो । इतिहासविद् स्व. बाबुराम आचार्यले ‘दोलखाको इतिहास नलेखी नेपालको इतिहास पूर्ण हुँदैन’ भन्ने उल्लेख गरेकाले पनि यसको ऐतिहासिक महत्व स्पष्ट हुन्छ। प्राचीनकालदेखि नै दोलखाले आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक तथा सांस्कृतिक पहिचान कायम राख्दै आएको छ।संघीय संरचनापछि सात गाउँपालिका र दुई नगरपालिकामा विभाजित दोलखा आज धार्मिक तथा प्राकृतिक पर्यटनको महत्वपूर्ण केन्द्रका रुपमा विकास भइरहेको छ। नेपालको समय निर्धारण हुने गौरीशंकर हिमालको काखमा अवस्थित यो जिल्ला हिमाल, नदी, झरना, मन्दिर, गुम्बा र ऐतिहासिक सम्पदाले भरिपूर्ण छ ।
आस्थाको केन्द्रः भीमेश्वर मन्दिर
दोलखाको धार्मिक पहिचानको सबैभन्दा महत्वपूर्ण आधार हो भीमेश्वर मन्दिर भीमेश्वर नगरपालिका–२ स्थित यो मन्दिर नेपालकै प्राचीन मन्दिरहरुमध्ये एक मानिन्छ । इष्टदेवका रुपमा पूजा गरिने भीमसेनको दर्शन गरेमा व्यवसायिक सफलता प्राप्त हुने जनविश्वास छ।काठमाडौंबाट करिब १३८ किलोमिटर दूरीमा रहेको यो मन्दिरमा दैनिक सयौँ भक्तजन दर्शनका लागि पुग्ने गर्छन्। दशैं, तिहार तथा अन्य प्रमुख चाडपर्वमा हजारौँ श्रद्धालुको भीड लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
स्थानीय विश्वासअनुसार भीमेश्वरको मूर्तिमा पसिना आए देशमा कुनै महत्वपूर्ण परिवर्तन, संकट वा विशेष घटना हुने संकेत मानिन्छ।यही विशेषताका कारण पनि मन्दिर देशभर चर्चित छ । हिन्दू र बौद्ध धर्मावलम्बी दुवैले श्रद्धा गर्ने यो स्थल धार्मिक सहिष्णुताको प्रतीक बनेको छ।प्राचीन समयमा व्यापार गर्दा वन्यजन्तु, चोर डाकाको डर हुने हुँदा भीमसेनलाई स्मरण गरेमा भयमुक्त हुने जनविश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले उल्लेख गरेका छन् ।स्थानीय बासिन्दाको विश्वासमा यो मूर्तिलाई पसिना आउँदा ६ महिनाभित्र देशमा परिवर्तन,सङ्कट तथा अनिष्ट हुन्छ भन्ने विश्वास रहेको उनी बताउँछन् । दैनिक २ सय भन्दा वढि धार्मीक पर्यटकहरु दोलखाको भीमेश्वर मन्दिमा दर्शन गर्नका लागि भक्तजनहरु आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए ।
कालिञ्चोक भगवतीःबादलमाथिको आस्था
दोलखाको सबैभन्दा चर्चित धार्मिक तथा पर्यटकीय गन्तव्य हो कालिञ्चोक भगवती। समुद्री सतहबाट ३,८४२ मिटर उचाइमा रहेको यो धार्मिक स्थल चरिकोटबाट करिब १८ किलोमिटर दूरीमा अवस्थित छ ।
स्कन्द पुराणमा कामाचल गिरी हिमवत खण्डमा हिमालय पर्वत र कालीपुराणमा कलिञ्जर भन्ने उल्लेख भएको ठाउँ नै कालिञ्चोक भएको यससँग सम्बन्धित जानकारहरु बताउँछन् । उनीहरुका अनुसार तीन हजार वर्षसम्म तपस्या गरेर पार्वतीले राक्षस मारेको स्थान नै कालिञ्चोक हो । महत्वपूर्ण र सुरक्षित, धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीय सरकार पनि पहल गरेको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोेटीले बताएका छन् ।
आन्तरिक पर्यटक सम्झना पौडेल ३ पटक कालिञ्चोक आइसकेकी छन् । ‘मलाई कालिञ्चोक आइरहन मन लाग्छ । यहाँको प्रकृति र कालिञ्चोक भगवतिको दर्शन मेरो लागि साहारा बनिसकेको छ ।’धर्मप्रति आस्था राखेर पूजा गरे मनोकामना पूरा हुने विश्वासका कारण वर्षभरि श्रद्धालुहरु कालिञ्चोक पुग्ने गर्छन्।कालिञ्चोमा दैनिक आन्तरिक बाह्य पर्यटकहरु सयौं पुग्ने गरेकोे होटल व्यवसायी हरि ओलीले जानकारी दिए । उनका अनुसार हिउँ परेको सिर्जनमा कालिञ्चोकमा बढी पर्यटकहरु पुग्ने गरेका छन् ।
जनैपूर्णिमा, कृष्णाष्टमी लगायतका अवसरमा विशेष मेला लाग्ने गर्दछ।कालिञ्चोकको अर्को आकर्षण यहाँबाट देखिने हिमश्रृङ्खला हो । गौरीशंकर, गणेश, लाङटाङदेखि पूर्व–पश्चिम फैलिएका हिमालको मनोरम दृश्यले पर्यटकलाई लोभ्याउँछ । हिउँदमा हिमपात भएपछि यहाँको आकर्षण झनै बढ्ने गरेको छ।पर्यटन प्रवद्र्धनका लागि कुरी बजारदेखि कालिञ्चोकसम्म केवलकार सञ्चालनमा ल्याइएपछि यहाँ पुग्ने पर्यटकको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको छ। केवलकारको सुविधा र सडक पहुँचले कालिञ्चोकलाई देशकै लोकप्रिय धार्मिक पर्यटन गन्तव्य बनाएको छ। चरिकोट बजारबाट गाडीले कुरीसम्म पु¥याउँछ । त्याहाँबाट ठाडो उकालो हिँडेर वा केलुलकारमा कालिञ्चोक भगवतिको सामुन्ने पुग्न सकिन्छ ।
सय थुम्काको रहस्य बोकेको शैलुङ
दोलखाको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित शैलुङ पछिल्लो समय पर्यटकको नयाँ आकर्षण बनेको छ। समुद्री सतहबाट करिब ३,४०० मिटर उचाइमा रहेको शैलुङलाई ‘सय थुम्काको भूमि’ भनेर चिनिन्छ ।
प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई साङ्गेलुङ भनिन्थ्यो । पछि अपभं्रश हुँदै शैलुङ रहन गएको शैलुङ गाउँपालिकाका पुर्व अध्यक्ष भरतप्रसाद दुलालले बताए ।केही समय अघिसम्म ओझेलमा परेको शैलुङ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको नयाँ आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएकोे दुलाल बताउँछन् । बौद्ध, हिन्दू, बोन तथा क्रिश्चियन धर्मावलम्बीहरुको साझा आस्थाको केन्द्रका रुपमा परिचित शैलुङ धार्मिक तथा प्राकृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। जनैपूर्णिमा, बालाचतुर्दशी र बाह्रवर्षे मेलामा यहाँ ठूलो संख्यामा दर्शनार्थी पुग्ने गर्छन्।जिरीबाट शैलुङ घुम्न पुगेकी तारा बस्नेतलाई यो ठाउँले लोभ्याएको छ ।
चारैतिर देखिने मनोरम हिमशिखरहरु,वनैभरि नाच्ने डाँफेमुनाल, चौँरी र विभिन्न जातजातिका चराचुरुङ्गी एवं जङ्गली जनावरले शैलुङका डाँडाकाँडामा बसेर खुशीयाली व्यक्त गर्न सक्ने सकिने पालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । किंवदन्ती अनुसार यस क्षेत्रमा १ सय ८ ओटा थुम्का रहेको कार्कीले बताएकी छन् । ढुंगाको थुम्कै थुम्का मिलेर बनेको सय थुम्का नै सैलुङ हो ।
शैलुङबाट गौरीशंकर, सगरमाथा, गणेश हिमाल, माछापुच्छ्रे लगायतका हिमश्रृङ्खला स्पष्ट देख्न सकिन्छ। चारैतिर फैलिएका घाँसे मैदान, वनजंगल, चराचुरुङ्गी तथा जैविक विविधताले यो क्षेत्रलाई अझ आकर्षक बनाएको छ।पछिल्लो समय निर्माण गरिएको ‘शैलुङ ग्रेटवाल’ पर्यटकको विशेष आकर्षण बनेको छ। कालापानी क्षेत्रमा होटल तथा पर्यटकीय पूर्वाधार विस्तार भएसँगै शैलुङमा वर्षेनि हजारौँ पर्यटक पुग्ने गरेका छन् ।
सगरमाथाको प्रवेशद्वारः जिरी
दोलखाको जिरीलाई नेपालकै सुन्दर पहाडी नगरमध्ये एक मानिन्छ। ‘नेपालको स्विट्जरल्यान्ड’ भनेर चिनिने जिरी विगतमा सगरमाथा क्षेत्र जाने प्रमुख प्रवेशद्वारका रुपमा परिचित थियो ।
सगरमाथा क्षेत्र जाने पुरानो प्रवेशद्वारका रुपमा परिचित जिरी धार्मीक र पर्यटकीय स्थलकोे रुपमा विकास भईरहेको नगरपालिकाका मेयर मित्र बहादुर जिरेलले बताए । प्रकृतिसँगै धार्मीक हिसाबले पनि जिरीको छुट्टै पहिचान रहेको उनको भनाई छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण जिरी धार्मिक दृष्टिले पनि महत्वपूर्ण छ । यहाँ अवस्थित जिरेश्वर महादेव मन्दिरमा दर्शन गरे मनोकामना पूरा हुने विश्वास रहिआएको छ । जिरी नगरपालिका–४ स्थित जिरेश्वर मन्दिर चट्टानी ओढारभित्र अवस्थित छ । स्थानीय किंवदन्तीअनुसार गाईले ओढारभित्र दूध चढाएको घटनापछि यहाँ पूजा आराधना सुरु भएको मानिन्छ।नगरपालिकाले सडक, खानेपानी तथा अन्य पूर्वाधार निर्माण गरी जिरेश्वरलाई व्यवस्थित धार्मिक गन्तव्यका रुपमा विकास गरिरहेको छ। वर्षेनि हजारौँ भक्तजन तथा पर्यटक यहाँ पुग्ने गरेका छन् ।
गौरीशंकरदेखि रोल्वालिङसम्मको हिमाली आकर्षण
दोलखाको पर्यटन केवल धार्मिक स्थलमा सीमित छैन । यहाँका हिमाली क्षेत्र पनि उत्तिकै आकर्षक छन् । गौरीशंकर हिमाल, रोल्वालिङ हिमश्रृङ्खला, बेदिङ, ना गाउँ, सिमीगाउँ लगायतका क्षेत्र साहसिक पर्यटनका महत्वपूर्ण गन्तव्य हुन् ।
विशेषगरी पदयात्रा, हिमाली संस्कृति अध्ययन तथा पर्वतारोहणका लागि विदेशी पर्यटकहरुको रोजाइमा यी क्षेत्र पर्छन् । हिमाली जनजीवन, परम्परागत संस्कृति र अनुपम प्राकृतिक सौन्दर्यले यी गन्तव्यलाई अन्तर्राष्ट्रियस्तरमा समेत परिचित बनाएको छ।नेपालकै ठूला हिमतालमध्ये एक छो रोल्पा हिमताल दोलखाको अर्को महत्वपूर्ण पर्यटकीय सम्पदा हो । रोल्वालिङ क्षेत्रमा अवस्थित यो हिमताल प्राकृतिक सौन्दर्यका कारण साहसिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
हिमालको काखमा रहेको नीलो पानीको विशाल ताल, वरिपरिको हिमश्रृङ्खला र पदयात्राको रोमाञ्चक अनुभवले यहाँ पुग्ने पर्यटकलाई अविस्मरणीय अनुभूति प्रदान गर्छ ।
दोलखामा भीमेश्वर, कालिञ्चोक, जिरेश्वर मात्र होइन, देउलाङ्गेश्वर महादेव, बैशकीश्वरी महादेव, गुहेश्वरी महादेव, ढुङ्गेश्वरी महादेव, राम्बोले महादेव, तिनकु महादेव, जटापोखरी, बहुला पोखरी, विगु गुम्बा लगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाहरु पनि रहेका छन्।यी स्थलहरुले दोलखाको धार्मिक पर्यटनलाई थप सशक्त बनाएका छन्। हिन्दू, बौद्ध तथा स्थानीय संस्कृतिको अनुपम मिश्रणले जिल्लालाई विशिष्ट पहिचान दिएको छ ।
विकासको प्रगतिमा लम्किरहेको दोलखा
दोलखामा सडक सञ्जाल विस्तार, होटल तथा होमस्टे सञ्चालन, केवलकार निर्माण र पर्यटकीय पूर्वाधार विकाससँगै पर्यटन उद्योग विस्तार भइरहेको छ। धार्मिक पर्यटन, साहसिक पर्यटन, हिमाली पर्यटन र सांस्कृतिक पर्यटनलाई एकीकृत रुपमा विकास गर्न सके दोलखा देशकै प्रमुख पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना देखिन्छ ।
प्राकृतिक सम्पदा, ऐतिहासिक धरोहर, धार्मिक आस्था र सांस्कृतिक विविधताको अनुपम संगम रहेको दोलखा अहिले पर्यटनको नयाँ उचाइतर्फ उन्मुख छ। हिमालको काखमा बसेर इतिहास, संस्कृति, प्रकृति र आध्यात्मिक अनुभूति एकैसाथ लिन चाहनेका लागि दोलखा साँच्चिकै अनुपम गन्तव्य बनेको छ ।












