उपमहानगरको नीतिः ‘आमाको सपना, छोरीको उडान’ कार्यक्रम सञ्चालन गर्ने

स्वर्णिम खबर
९ असार २०८३, मंगलवार १८:५९

९ असार, हेटौँडा । समृद्ध हेटौँडा निर्माणको दीर्घकालीन सोचलाई केन्द्रमा राखेर हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलबार बसेको १९ औं नगरसभामा नगर प्रमुख मिना कुमारी लामाले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरबासीको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने गरी योजना तर्जुमा गरिएको बताउनुभयो । उहाँका अनुसार दिगो विकास, सुशासन, पूर्वाधार विकास, आर्थिक समृद्धि, हरियाली प्रवद्र्धन, उत्पादनमुखी उद्यमशील नगर, रोजगारी सिर्जना तथा जेनजी आन्दोलनको भावना नीति तथा कार्यक्रमका प्रमुख आधार हुन् । नीति तथा कार्यक्रममा भुउपयोग योजना अनुसार बस्ती विकासका लागि विभिन्न चरणमा आवास तथा बस्ती विकासयोग्य क्षेत्र पहिचान गरिने उल्लेख गरिएको छ । संघीय तथा बागमती प्रदेश सरकारसँगको समन्वयमा अटो भिलेज निर्माणको प्रक्रिया अघि बढाइने नगर प्रमुख लामाले बताउनुभयो ।
हेटौँडा–१० मा निर्माणाधीन एकीकृत बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । नगर यातायात गुरुयोजनाका आधारमा सडकको मार्गाधिकार तथा नामकरणसहितको सडक प्रोफाइल तयार गरिनेछ । विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेशन विस्तार गरिने तथा निजी क्षेत्रको सहकार्यमा सशुल्क पार्किङ व्यवस्थापन लागू गरिने नीति लिइएको छ ।
पर्यटन प्रवद्र्धनका लागि ‘जाऔँ हेटौँडा, रमाऔँ हेटौँडामा’ अभियानसहित पर्यटन वर्ष २०८३ घोषणा गरी कार्यान्वयन गरिने भएको छ । ‘एक वडा, एक पर्यटकीय गन्तव्य’ अवधारणाअनुसार धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको पहिचान र विकास गरिने नीति लिइएको छ । महिला फुटबलको विकासका लागि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने नीति पनि उपमहानगरले लिएको छ ।महिलामैत्री हेटौँडा निर्माण अभियानअन्तर्गत नीति निर्माण, योजना कार्यान्वयन, पूर्वाधार विकास तथा अनुगमन मूल्याङ्कनमा महिलाको सहभागिता बढाइने भएको छ । छोरीहरूको सम्मान र क्षमता विकासका लागि ‘आमाको सपना, छोरीको उडान’ तथा ‘डिजिटल दिदी मोबाइल बैंकिङ कक्षा’ कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । स्थानीय भाषा, लिपि, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनलाई पनि प्राथमिकतामा राखिएको छ ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउन समयसापेक्ष संगठनात्मक संरचनाको पुनरावलोकन गरी कार्यान्वयन गरिनेछ । नागरिकलाई छिटो, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन उपमहानगर तथा सबै वडा कार्यालयमा हेल्प डेस्क स्थापना गरिने भएको छ । साथै सुशासन र पारदर्शिता प्रवद्र्धनका लागि ‘सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइने नगर प्रमुख लामाले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*