संघीयता कार्यान्वयन नभए गठबन्धनको सरकार पनि टिक्दैनः मुख्यमन्त्री पाण्डे

स्वर्णिम खबर
१ पुष २०७९, शुक्रबार १७:३७

१ पौष, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संविधान अनुसार संघीयता कार्यान्वयन नभए गठबन्धनको सरकार पनि नटिक्ने बताउनुभएको छ ।
अहिलेसम्म संघीयताको सही कार्यान्वयन नभएको बताउँदै मुख्यमन्त्री पाण्डेले सही ढंगले कार्यान्वयनका लागि छलफल गर्न शीर्ष नेताहरुलाई सुझाव समेत दिनुभयो । प्रदेशले पाउनुपर्ने अधिकारलाई केन्द्र सरकारले नै राखेर बसिरहेको मुख्यमन्त्री पाण्डेको गुनासो छ । कुल बजेटको २४ प्रतिशत प्रदेश र स्थानीय तहले खर्च गर्नुपरेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश र स्थानीय सरकारले काम नै गर्न सकेन भन्नु उपयुक्त नभएको जिकिर गर्नुभयो । मुख्यमन्त्री पाण्डेले संघीयता विरोधी शक्तिहरु सक्रिय रहेको टिप्पणी गर्नुभयो । उहाँले संघीयता खारेज भए राजतन्त्र फर्किने ठोकुवा समेत गर्नुभयो ।
यसैगरी मुख्यमन्त्री पाण्डेले गठबन्धनको सरकार बन्दा कर्मचारीमा काम नै नगर्ने प्रवृत्ति बढेको बताउनुभयो । उहाँले सरकारमा फरक–फरक पार्टी भएपछि कर्मचारीमाथि एक खालको दबाब पर्दा काम कारबाही ढिलाइ हुने गरेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पाण्डेले कर्मचारी, प्रमुख सचिव बाहेक अरु सबै सचिव प्रदेश सरकारले नै नियुक्ति गर्न सक्नेगरी अध्यादेश जारी गरेको र उक्त अध्यादेशलाई अब आउने संसदले पास गर्ने उहाँको भनाइ छ ।
७५३ वटै पालिकाको प्रशासनिक प्रमुख सिंहदरबारको संघीय मामिला मन्त्रालयले पठाउनु गलत भएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*