हेटौंडाको मेयरमा हारेका सिंह संघको चुनावमा सफल
८ मंसिर, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह निर्वाचित हुनुभएको छ ।
सिंहले नेपाली कांग्रेस सहमहामन्त्री एवम् गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना) र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी हुनुभएको हो । सिंह र उनका निकटत्म प्रतिद्वन्द्वी काग्रेसकी उम्मेदवार डिनाबीच २ हजार ३९३ मतको अन्तर रहेको छ । कुल ९१ हजार ५ सय ८३ मत खसेकोमा विजयी सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गर्नुभएको हो । यस्तै सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गर्दा एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका थापाले २५ हजार ४२० मत प्राप्त गर्नुभयो । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा सिंह हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित हुनुभएको थियो । राप्रपा हेटौंडामा २८ वर्षपछि विजयी भएको हो । २०५१ सालको निर्वाचनमा राप्रपाका तत्कालिन उम्मेदवार कमल थापाले एमालेका कृष्ण दाहाललाई पराजित गर्दै विजयी भएका थिए ।













