बागमती प्रदेशसभाः मुल विधेयक ५५ वटा र संशोधन विधेयक १५ वटा पारित
१० श्रावण, हेटौँडा । बागमती प्रदेशसभाले हालसम्म ७० वटा विधेयक पारित गरेको छ ।
मंगलबार सभामुख सानुकुमार श्रेष्ठले पत्रकार सम्मेलन गर्दै मुल विधेयक ५५ वटा र संशोधन विधेयक १५ वटा गरी ७० वटा विधेयक पारित भएको जानकारी दिनुभयो । यसैगरी ६६ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणिकरण भइसकेको सभामुख श्रेष्ठले बताउनुभयो । प्रदेश सभाले ८ वटा अध्यादेश पारित गरेको र ३ वटा अध्यादेश विविध कारणले स्विकृत हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा सभामुख श्रेष्ठले संघीय सरकारले कतिपय ऐनहरु नबनाउँदा प्रदेशसभाले चाहेर पनि आवश्यक ऐन बनाउन नसकेको बताउनुभयो ।
प्रदेश सभामा हालसम्म २ सय ४० वटा बैठक सम्पन्न भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश सभाको बैठक २ सय ८८ घण्टा २० मिनेट बसेको छ । यसैगरी हालसम्म प्रदेशसभामा ११ वटा शुन्य समय र २९ वटा विशेष समयको कार्यक्रम राखिएको पनि उहाँले बताउनुभयो ।

मुलतः नीति कार्यक्रम र बजेट निर्माणमै केन्द्रित रहेको प्रदेशसभाको दशौं अधिवेशनमा मुल विधेयक ३ वटा, संशोधन विधेयक ३ वटा र अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक १ वटा पारित भएको सभामुख श्रेष्ठले जानकारी दिनुभयो । यस्तै ३ वटा प्रतिस्थापन विधेयक भने पारित हुन सकेन । पत्रकार सम्मेलनमा सभामुख श्रेष्ठ सहित उपसभामुख राधिका तामाङ, प्रदेश सचिव कृष्णहरी खड्का लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।













