बागमती प्रदेशमा मुख्यमन्त्री तत्काल परिवर्तन नहुने
२१ असार, हेटौँडा । बागमती प्रदेशमा मुख्यमन्त्री हेरफेरको सम्भावना तत्काललाई टरेको छ ।
यससँगै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे आगामी चुनावसम्म प्रदेशको मुख्यमन्त्री रहिरहने छन् । सरकार गठनको समयमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पाण्डे र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ आलोपालो मुख्यमन्त्री बन्ने लिखित सहमति भएको थियो । बजेट पास भएपछि मुख्यमन्त्री पाण्डेलाई दबाव दिन कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन नै गरे । सत्तारुढ दुई दलले हस्ताक्षर संकलन गरेपछि एकीकृत समाजवादीले भने असन्तुष्टि जनायो । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुले भने गठबन्धन भत्किन्छ भने पाण्डेको सरकारलाई समर्थन गर्नसक्ने आश्वासन दिएका थिए । यस्तै समाजवादीको संसदीय दलको बैठकले पनि प्रदेश सरकारको नेतृत्व तत्काल नछोड्ने निर्णय गरेको थियो । गठबन्धनका नेताहरुका अनुसार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच २–२ र जनता समाजवादी पार्टीले एक प्रदेशको मुख्यमन्त्री लिने सहमति शीर्ष तहमै भएको हो । नेताहरुका अनुसार यदि बागमतीका मुख्यमन्त्रीले राजीनामा दिने हो भने अरु प्रदेशमा पनि हेरफेर गर्नुपर्ने अवस्था आउँछ । त्यसैले कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले पनि मुख्यमन्त्री हेरफेरका लागि रुचि देखाएका छैनन् । कांग्रेस बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता बानियाँले भने मुख्यमन्त्री हेरफेर नगर्ने सहमति शीर्ष तहमा भएकोबारे आफूलाई जानकारी नभएको बताउनुभयो । यद्यपि अहिले गठबन्धनलाई कमजोर बनाउने काम कांग्रेसले नगर्ने भन्दै नेता बानिंयाले स्पष्ट पार्नुभयो ।













