प्रधानमन्त्री देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने संसदीय समितिको निर्णय

स्वर्णिम खबर
५ असार २०७९, आईतवार १५:२३

५ असार, काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको छ ।
आईतवार बसेको समितिको बैठकले प्रधानमन्त्री देउवालाई समितिको बैठकमा बोलाइएकोमा अन्तिम क्षणमा बैठकमा उपस्थित नहुने जानकारी गराएको भन्दै बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको हो । समितिले अमेरिकाद्वारा प्रश्तावित स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) र प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री देउवालाई बैठकमा बोलाएको थियो । तर प्रधानमन्त्री देउवाले अन्तिम समयमा आएर मात्रै आफ्नो सचिवालयमार्फत बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराउनुुभएको थियो । प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सांसदहरुले विभिन्न टिप्पणी गर्नुभएको थियो । बैठकले प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गर्ने निर्णय गरिएको समिति सभापति पवित्रा निरौला खरेलले बताउनुभयो । उहाँले त्यसरी संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित हुनेकुरा संसदीय प्रणालीको अभ्यासमा उचित नदेखिएको पनि ध्यानाकर्षण गराएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रतिपक्ष दलका सांसदहरुले विभिन्न प्रश्नहरु उठाउनुभएको थियो भने सत्तारुढ दलका सांसदहरुले प्रधानमन्त्रीको व्यस्थताका कारण आउन नसकेको धारणा व्यक्त गर्नुभएको थियो । लामो छलफलपछि गरिएको समितिको निर्णयमासमेत सत्तारुढ दलका सांसदहरुले असहमति जनाउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*