पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया नजिक छः अध्यक्ष दाहाल
५ असार, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सबै पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रिय समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले पूर्व माओवादीहरुको नयाँ एकताको श्रृंखला नजिकिएको बताउनुभएको हो । उहाँले अब पुनः विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिने दाबी गर्नुभयो । अध्यक्ष दाहालले कर्मचारीहरु भित्र पनि बिस्तारै एकीकृत हुने अवस्था बन्ने बताउनु भयो ।
अध्यक्ष दाहालले कर्मचारीभित्र पनि र समग्र राजनीतिक वृत्तमा पनि संघीयता कमजोर बनाउने काम भइरहेको बताउनुभयो । उहाँले कर्मचारीतन्त्रभित्र उपल्लो तहका कर्मचारीहरुले संघीयता वा संघीय निजामति ऐन अघि बढाउने कुरा वा वृत्ति विकाससँग सम्बन्धित नयाँ प्रक्रियातिर जान चाहने कुराहरुलाई सम्बोधन हुन नदिने प्रयास भइरहेको बताउनुभयो । अध्यक्ष दाहालले संघीय निजामति ऐन सदनको समितिबाट पारित गरेर प्रधानमन्त्री कार्यालयमा पठाइएको तर कर्मचारीतन्त्रको उच्च पदाधिकारी हरुबाट नै व्यवधान भइरहेको जिकिर गर्नुभयो ।
अध्यक्ष दाहालले गठबन्धनको बैठकमा निजामित ऐन र वृत्ति विकाससँग सम्बन्धित नयाँ प्रक्रियाको बारेमा कुरा राख्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले स्थानीय तहमा काम गर्ने कर्मचारीहरुको वृत्ति विकाससँग सम्बन्धित कर्मचारी प्रशासन ऐन निर्माण र लागू गर्ने कुरामा सबैले आवाज उठाउनु पर्नेमा जोड दिनुभयो ।













