नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सोझैं पत्राचार गर्नु गलतः वर्षमान पुन
४ असार, हेटौँडा । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सोझैं पत्राचार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
पूर्वअर्थमन्त्री समेत रहनु भएका नेता पुनले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, कानुन मन्त्रालय कसैलाई पनि जानकारी नै नदिई नेपाली सेनाले सो विषयमा सोझै पत्राचार गर्ने काम गम्भिर भएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले अव यस्ता घटना हुन नदिन सरकार र राजनीतिक नेतृत्वलाई सचेत हुन पनि पटकपटक आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले)का उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले एसपीपी अघि बढाउँदा ताकुतदार मन्त्रालय र राजनीतिक नेतृत्वलाई नेपाली सेनाले जानकारी नै नदिएको दावी गर्नु भयो । उहाँले रक्षा मन्त्रालयलाई सो प्रक्रियाबारे के गर्ने भनेर नेपाली सेनाले अनुरोध गरेको तथा मन्त्रालयको प्रतिनिधिलाई पनि सामेल गराएर सो प्रक्रिया अघि बढाउनु भनेपछि सो प्रक्रिया अघि बढाएको देखिएको बताउनु भयो ।
उपमहासचिव ज्ञवालीले २०७२ साल असोज १३ गते सो प्रक्रिया अघि बढाउनू भन्ने निर्देशन दिँदा तत्कालीन रक्षामन्त्री सुशील कोइराला रहेको र नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सो प्रोग्रामबारे पत्राचार गर्दा केपी ओली प्रधानमन्त्री भएपनि कुनै जानकारी नदिइएको बताउनु भयो ।
उपमहासचिव ज्ञवालीले नेपालको परराष्ट्र नीति सही भएपनि त्यसको व्यवहारिक प्रयोगमा कठिनाई हुने गरेको पनि स्पष्ट पार्नु भयो ।













