समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गरौँः मुख्यमन्त्री पाण्डे
३० जेठ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न प्रदेश अन्तरगतका स्थानीय तहहरुलाई आग्रह गर्नु भएको छ ।

सोमबारबाट हेटौंडामा सुरु भएको बागमती प्रदेश अन्तरगतका स्थानीय जनप्रतिनिधिहरुको अभिमुखिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले गरिव तथा सामाजिक विभेदमा परेकाहरुको उत्थान हुने खालको नीति तथा कार्यक्रम ल्याएको दाबी गर्नुभयो । त्यसैसँग जोडेर बजेट ल्याउन पनि उहाँको स्थानीय तहको ध्यानाकर्षण गराउनु भयो । एकल महिला, दलित, लोपोन्मुख, सिमान्तकृत समूदाय, अपांगता भएका महिलाहरुको सशक्तिकरणका लागि सीप, पूँजी र प्रविधिको उपयोग गरिने कुरालाई स्थानीय सरकारले पनि विशेष रुपले अघि बढाउनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाई थियो । स्थानीय तहलाई नै हेरेर प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने भएकाले त्यसै अनुसार स्थानीय तहले पनि बजेट ल्याउँदा उपयुक्त हुने उहाँले बताउनु भयो ।

मुख्यमन्त्री पाण्डेले व्यापक बहस गरेर कानुन निर्माण गर्ने र त्यसको पूर्ण कार्यान्वयनमा जोड दिन पनि स्थानीय जनप्रतिनिधिहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकार जनमुखी सरकार बन्नुपर्ने बताउनुभयो । चुनावमा जे पनि गर्छु भन्ने अनि जितिसेकपछि पछि हट्ने काम नगर्न जनप्रतिनिधिलाई उहाँको आग्रह छ ।

दुई दिनसम्म चल्ने अभिमुखिकरण कार्यक्रममा स्थानीय सरकार संचालन र स्थानीय विकास सम्बन्धमा विस्तृत छलफल हुनेछ ।













