शुक्रबारको बैठकमा ५ वटा अध्यादेश पेश हुने, नीति तथा कार्यक्रम जेठ १६ मा आउने
१२ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम यही जेठ १६ गते प्रस्तुत हुने भएको छ ।
संसद सचिवालयमा बिहीबार बसेको कार्य परामर्श तथा व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आर्थिक वर्ष ०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिङदोर्जे लामाले जानकारी दिनुभयो । त्यही दिन बस्ने दोसो बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबुल गर्ने र जेठ १७ गते छलफल हुने कार्यसूचि तय भएको छ । त्यस्तै जेठ १८ गते छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत हुने भएको छ ।
प्रदेशसभाको भोली(शुक्रबार) बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष तथा विभिन्न दलका नेताहरुले शुभकामना सन्देश व्यक्त गर्ने कार्यसूची रहेको प्रमुख सचिव कृष्णहरी खड्काले बताउनुभयो । यस्तै बैठकमा संसद सञ्चालन नभएको समयमा प्रदेश सरकारले ल्याएको ५ वटा अध्यादेश पेश हुने भएको छ । प्रदेशसभामा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद खनालले विभुषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेश गर्ने भएका छन् । त्यसैगरी, युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्ने भएका छन् । प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ पनि संसदमा पेश हुने भएको छ ।













