गठबन्धनलाई जोगाउन रेनु दाहालको जित आवश्यकः प्रधानमन्त्री देउवा

स्वर्णिम खबर
२२ बैशाख २०७९, बिहीबार १९:०३

२२ वैशाख, चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनको उम्मेदवार रेनु दाहाललाई निर्वाचनमा जिताउन आग्रह गर्नुभएको छ ।
बिहीवार चितवनको भरतपुरमा सत्तारुढ पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाललाई सबैले सहयोग गरेर जिताउन आग्रह गर्नुभएको हो । उहाँले निवर्तमान मेयर समेत रहनुभएकी दाहालले महानगरपालिकामा राम्रो काम गरेको भन्दै राम्रो काम गर्नेलाई जिताउनुपर्ने बताउनुभयो । दाहालले निर्वाचन जितिसकेको उल्लेख गर्दै उहाँले कांग्रेसले बखेडा गर्नुनहुने बताउनुभयो । प्रधानमन्त्री देउवाले देशमा गठबन्धन आवश्यक रहेको बताउनुभयो । उहाँले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै भरतपुरबाट गठबन्धन टुट्न दिनु नहुने बताउनुभयो । उहाँले हाल दाहाललाई जिताउनु आफुहरुको कर्तव्य रहेको भन्दै पछि आफुहरुका लागि छोड्न आग्रह गरिने पनि बताउनुभयो ।
प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस गठबन्धनको पक्षमा रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसको महाधिवेशनबाट ८२ प्रतिशत मतका साथमा आफु सभापति निर्वाचित भएको स्मरण गर्दै गठबन्धनका प्रति जनताको भरोसाका कारणले नै आफु सभापतिमा निर्वाचित भएको बताउनुभयो । आफ्नो सभापतिमा भएको जित नै गठबन्धन प्रतिको समर्थन रहेको उहाँले जिकिर गर्नुभयो ।
उहाँले भरतपुरमा रेनु दाहालले गरेका विकास निर्माणका कामका कारण काठमाडौंमा भन्दा जग्गा महंगो भएको बताउनुभयो । दाहाललाई कुनै पनि शंका नहुने स्थितिबाट सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*