निर्वाचन आयोगले एमालेलाई थर्कायोः अध्यक्ष ओली

स्वर्णिम खबर
२६ चैत्र २०७८, शनिबार १४:५०

२६ चैत्र, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने बेला आफ्नो पार्टीलाई थर्काएको आरोप लगाउनुभएको छ ।
सत्तापक्षसँग मात्रै परामर्श गरेर जारी गरिएको निर्वाचन आचारसंहिता हस्ताक्षर गर्ने बेला आयोगले आफ्नो पार्टीका प्रतिनिधिहरुलाई हस्ताक्षर नगरे नगर्नुस् भनेर थर्काएको उहाँको गुनासो थियो । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालको इतिहासमा पहिलो पटक निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपक्ष दलहरुसँग परामर्श नगरी जारी गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । निर्वाचन आयोगले अनुरोध गरेर निर्वाचन सम्पन्न गर्नुपर्नेमा कारबाहीको डण्डाको देखाउने गरेको अध्यक्ष ओलीले टिप्पणी थियो । आफ्नो दलसँग परामर्श नगरी निर्वाचन आचारसंहिता जारी भएपनि त्यसको पूर्ण पालना गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको अध्यक्ष ओलीले बताउनुभयो ।
यस्तै फरक प्रसंगमा अध्यक्ष ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर सरकारले निर्लज्जता प्रकट गरेको बताउनुभयो । अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नर अधिकारीलाई निलम्बन गरेर बलियो बोको बनाउने काम गरेको अध्यक्ष ओलीले आरोप लगाउनुभयो । सरकारले माओवादी केन्द्रको भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानवीन समिति बनाएको भन्दै ओलीले आपत्ति पनि जनाउनुभयो ।
त्यसैगरी अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धमा ज्यान धरापमा पारेर हिँडेकाहरुलाई अनादर र उपेक्षा गर्दै आफ्नै भाई नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्य बनाउने काम गरेर नातावाद र कृपावादको चरम नमुना प्रस्तुत गरेको दावी गर्नु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*