भारतस्थित नेपाली दुतावासमा चुच्चे नक्सा नभएकोमा ओलीको आपत्ति
२० चैत्र, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेखित नेपालको नक्सा भारतस्थित नेपाली दुतावासमा नभएको भन्दै आपत्ति जनाउनु भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएकै बेला त्यहाँको नेपाली दुतावासमा संविधानले व्यवस्था गरेको चुच्चे नक्सा नभई बुच्चे नक्सा भएको उल्लेख गर्दै आपत्ति जनाउनु भएको हो । आईतबार नेपाल बुद्धिजीवि परिषदको १० औं राष्ट्रिय अधिवेशनमा बोल्दै उहाँले देशको नक्सानै गायव बनाउने यो भन्दा अरु राष्ट्रिय लज्जाको विषय अरु केही नहुने बताउनु भयो । यस अघि प्रधानमन्त्री देउवाले सरकारको सय दिनको कार्यक्रम प्रकाशित गरेको पुस्तिकामा पनि संविधानले व्यवस्था गरेको चुच्चे नक्सा हटाएको प्रसंग उल्लेख गर्दै ओलीले सरकारले मुलुकको भौगोलिक अखण्डतामाथि सौदाबाजी गर्दा पनि चुप लागेर बसेको भन्दै बुद्धिजीविहरुप्रति असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले भारत भ्रमणबाट फर्कदा नेपाली दुतावासमा बुच्चे नक्सा नै झुण्ड्याएर आउने कि हटाएर आउने ? भनि प्रधानमन्त्री देउवालाई प्रश्न समेत गर्नु भयो । विगतमा कुनै पनि सरकारले आँट नगरेको विषय नेपालको भूमि समेटेर बनाइएको चुच्चे नक्सा पाँच दलीय देशद्रोही गठबन्धन सरकारले हटाएको आरोप समेत उहाँले लगाउनु भयो ।
ओलीले आफ्नै पार्टीको सरकार हटाएर काँग्रेसको पछिपछि लागेको भन्दै प्रचण्ड र माधव नेपालहरुलाई कटाक्ष पनि गर्नुभयो । आफ्नै सरकार हुँदा शेर रहेका उनीहरु चार वटा मन्त्रालय नभई हुँदैन भनेर लल्लू बन्न पुगेको उहाँको भनाई थियो । अध्यक्ष ओलीले आफ्नै सरकार र सिङ्गै मन्त्रालय हुँदा उनीहरुले आफूलाई कामै गर्न नदिएको पनि दोहो¥याउनु भयो । अध्यक्ष ओलीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्र समेत ध्वस्त बनाएको दावी गर्नु भयो ।













