एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई प्रधानमन्त्रीको आग्रह
२७ फागुन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेण्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने बताउनुभयो । उहाँले नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा भाग लिन हिम्मत गर्न आग्रह गर्नुभयो । अमेरिकी कानूनले एमसीसीलाई अन्तर्राष्ट्रियस्तरमा टेण्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले यस क्षेत्रमा देखिएका समस्याहरुको नीतिगत, कानूनी र प्रक्रियागत रुपमा सहजीकरण गर्न सरकार सकारात्मक रहेको दाबी गर्नुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीपास हुँदैमा अमेरिकी सेना नेपाल आउने भ्रमबाट मुक्त हुन आग्रह गर्नुभयो । गृहमन्त्री खाँणले एमसीसी कुनै सैनिक राजनीतिक र प्रशासनिक सम्झौता नभएर विकास साझेदारीको लागि भएको बताउनु भयो । उहाँले एमसीसी प्रस्ताव संसदबाट पास हुँदैमा अमेरिकाबाट विजुलीको तारमा सेना नआउने बताउनु भयो । गृहमन्त्री खाँणले विजुलीको तारमा सेना नभएर विजुली नै आउने टिप्पणी गर्नुभयो ।
यस्तै शहरी विकास मन्त्री रामकुमारी झाक्रीले विकास निर्माणको काममा ढिलासुस्ती हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताउनुभयो ।













