मतपत्रको चिन्हहरुमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति ओलीको आपत्ति
२४ फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रको चिन्हहरुमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउनु भएको छ ।
मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलील्ले कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो रङको चिन्ह राख्न खोजेको हो भने त्यो स्वीकार्य नहुने समेत बताउनु भयो । उहाँले निर्वाचन आयोगले मतपत्रका चिन्हहरुमा हरियो चिन्ह राख्नुको कारण बताउनुपर्ने भन्दै यदी यो कुरा सत्य भए निर्वाचन आयोगले त्रुटी सच्याउन आवश्यक रहेको बताउनु भयो ।
अध्यक्ष ओलीले अहिले हरेक राज्यका अंगहरुमा नेकपा एमालेको बिरुद्ध प्रयोग भइरहेको बताउनु भयो । उहाँले सभामुखको अहिलेको भुमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै सभामुखले नियम, कानूनको पालना नगरेको आरोप लगाउनु भयो ।
अध्यक्ष ओलीले अब जनादेशको लागि तयारी गर्ने भूमिकामा लाग्न अखिल नेपाल महिला संघसहित सम्पूर्ण महिलाहरुलाई अनुरोध गर्नुभयो ।













