परराष्ट्र नीति कुनै दल विशेषको हुँदैनः परराष्ट्रमन्त्री खड्का

स्वर्णिम खबर
६ आश्विन २०७८, बुधबार १५:५६

६ असोज, काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सन्तुलित हुने बताउनु भएको छ ।
बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गर्नु भएका परराष्ट्रमन्त्री खड्काले सञ्चारकर्मीहरुमाझ छिमेकी दुई मुलुक भारत र चीनबीचको सम्बन्ध अत्यन्तै सुमधुर, अत्यन्तै घनिष्ठ, मैंत्रीपूर्ण र अत्यन्तै सन्तुलित हुने बताउनु भएको हो । उहाँले परराष्ट्र नीति कुनै दल विशेषको नहुने उल्लेख गर्दै राष्ट्रिय सहमतीका साथ अघि बढने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । मन्त्री खड्काले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउने काममा आफू केन्द्रित भएर लाग्ने पनि बताउनु भयो । उहाँले एमसीसीलगायतका जल्दाबल्दा समस्या समाधानका लागि राष्ट्रिय सहमती कायम गर्दै त्यसका तथ्यगत र मिथ्यागत कुरालाई ध्यानमा दिएर राष्ट्रिय हित अनुकूलका कामलाई मात्रै अघि बढाउने पनि स्पष्ट पार्नु भयो । यस्तै परराष्ट्रमन्त्री खड्काले कुनै राजनीतिक दलको नेता कार्यकर्ता भएकै आधारमा राजदूत नियुक्त गर्न नहुने बताउनुभयो । देशको प्रतिनिधित्व गर्ने र मुलुकको राष्ट्रिय हितमा हुने गरी राजदूतको नियुक्ति गर्नुपर्नेमा मन्त्री खड्काले जाड दिनुभयो । नवनियुक्त परराष्ट्रमन्त्री खड्काले संयुक्त राष्ट्र संघको महासभामा एमसीसीबारे छलफल नहुने पनि स्पष्ट पार्नुभयो । उहाँले त्यस अवसरमा विश्वको विभिन्न देशका परराष्ट्रमन्त्रीहरुसँग द्धिपक्षीय हितका विषयमा छलफल हुने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*