काँग्रेसको वडा अधिवेशन स्थगित, महाधिवेशन तोकिएकै मितिमा हुने
९ साउन, काठमाडौं । आसन्न १४ औं महाधिवेशनको तयारीमा जुटेको नेपाली काँग्रेसले पार्टीको वडा तहको अधिवेशन तत्कालका लागि स्थगित गरेको छ ।
पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारीको शनिबार बिहान सभापति शेरबहादुर देउवाको बुढानिलकण्डस्थित निवासमा बसेको बैठकले साउन १२ गतेबाट सुरु हुने भनि तोकिएको वडा तहको अधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । तर भाद्र १६–१९ गते हुने भनिएको महाधिवेशनको अन्य कार्यतालिका भने कायमै रहेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले स्पष्ट पार्नु भयो । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यता छानवीनका क्रममा देखिएको विवाद केन्द्रिय कार्य समितिको बैठकबाट टुंगो लगाउने पनि स्पष्ट पारेको छ । आजको बैठकमा पनि सभापति देउवाले सो विवादलाई लिएर पार्टी केन्द्रिय कार्यालयमा धर्ना बसेका नेता, कार्यकर्ताहरुको माग सुनुवाई गर्न पार्टीका नेताहरुलाई सचेत गराउनु भएको प्रवक्ता शर्माले बताउनु भयो । बैठकले महाधिवेशनको तयारीमा क्रियाशील रहने काममा कुनै कमी आउन नदिन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।













