माओवादी केन्द्र दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन

स्वर्णिम खबर
२३ असार २०७८, बुधबार १७:२९

२३ असार, काठमाडौं । नेकपा(माओवादी केन्द्र) दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।
नेकपा(एमाले)मा आवद्ध भएका पूर्व माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्रको महाधिवेशन २०६९ सालपछि हुन नसकेको र यसैका कारण पार्टी अवैधानिक भएको भन्दै दल दर्ता खारेजी गर्न निवेदन दिएका हुन् । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकिकरणलाई खारेज गरिदिएपछि एमालेतर्फ लागेका पूर्व माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, मणि थापा लगाएतका नेताहरुलाई माओवादीले कारबाही गरेको थियो । सो कारबाही अवैधानिक भएको र माओवादी केन्द्रलाई निर्वाचित जनप्रतिनिधिलाई कारबाही गर्ने अधिकार पनि नभएको आरोप लगाइएको छ । निवेदन लिएर पूर्व माओवादी केन्द्रका नेताहरु लिलबहादुर थापा, रामचन्द्र मण्डल र अधिवक्ता सरोज बुढाथोकी बुधबार निर्वाचन आयोग पुगेका थिए ।यता निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले माओवादी केन्द्र दल दर्ताको माग गर्दै आयोगमा निवेदन आएको पुष्टि गर्दै निवेदनको व्यहोरा सचिवालयमा अध्ययन हुने र अध्ययनपश्चात आयोगमा पेश गरी आवश्यक निर्णय गर्ने बताउनुभयो । प्रवक्ता श्रेष्ठले निर्वाचन आयोगले असार ३१ गतेदेखि निर्वाचन प्रयोजका लागि राजनीतिक दल दर्ता गर्न सूचना प्रकाशित गर्ने पनि बताउनुयो । सर्वोच्च अदालतको फैसलाले अन्यथा नगरे निर्वाचनको कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोग तयारी अवस्थामा रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । निर्वाचन आयोगलाई एकातिर सर्वोच्च अदालतको फैसला अघि अनिश्चित रहेको निर्वाचनको तयारीको चटारो छ भने जनता समाजवादी पार्टीको विवाद र माओवादी केन्द्र दल दर्ता खारेजीको सम्वन्धमा परेको निवेदनको पनि छिट्टै निर्णय दिनुपर्ने अवस्था आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*