प्रधानमन्त्री र राष्ट्रपतिको कदमका विरुद्ध सर्वोच्च अदालत जाने विपक्षी गठबन्धनको निर्णय

स्वर्णिम खबर
८ जेष्ठ २०७८, शनिबार १५:४२

८ जेठ, काठमाडौं । विपक्षी गठबन्धनका राजनीतिक दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेको कदमको विरुद्धमा राजनीतिक र कानुनी रुपले प्रतिवाद गर्ने निर्णय गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराती प्रतिनिधि सभा विघटन गरी कात्तिक २६ गते र मंसिर ३ गते निर्वाचन घोषणा गर्नुभएको थियो । बैठकले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्य गरेको भन्दै त्यसको भत्र्सना गरेको छ । बैठकले गणतन्त्र, समावेशी लोकतन्त्र एवम् नेपालको सर्वोपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडी बढ्नका लागि सम्पूर्ण राजनीति दल र जनसमुदायलाई आव्हान समेत गरेको छ । विपक्षी गठबन्धनको बैठकको निर्णय बारे जानकारी दिदैँ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु प्रधानमन्त्री र राष्ट्रपतिको कदमका विरुद्ध सर्वोच्च अदालत जाने बताउनुभयो । षडयन्त्रमुलक ढंगबाट प्रतिनिधिसभाको विघटन गरिएको भन्दै अध्यक्ष प्रचण्डले सडक र अदालतबाट प्रतिरोध गर्ने पनि बताउनुभयो । उहाँले अदालतले संविधानको पक्षमा र निरंकुशताको विरुद्धमा फैसला गर्नेमा पनि विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले स्थानिय तह देखिनै यसको प्रतिवाद गर्ने पनि बताउनुभयो । अदालतमा सशक्त बहस भएर पुनः संसद पुर्नस्थापना हुनेमा उहाँको विश्वास छ । त्यस्तै नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले गठबन्धनका तर्फबाट सबै सांसदहरुलाई काठमाडौं बोलाइसकिएको र आइतबार सांसदहरुसँगको परामर्शपछि आवश्यक कानुनी प्रक्रियाहरु अगाडी बढाईने जानकारी पनि दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*