कोरोना रोकथाम र नियन्त्रणमा साधन स्रोतको कमी हुन दिन्नौंः प्रधानमन्त्री ओली
३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीका लागि तेस्रो कार्यकालका लागि शपथ ग्रहणपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नुहुँदै उहाँले राज्यका सबै अङ्ग र निजी क्षेत्रलाई प्रभावकारीरूपमा परिचालित हुन आग्रह गर्नुभयो । महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन उहाँले सचेत गराउनुभयो । प्रधानमन्त्री ओलीले मुलुकका सबै अक्सिजन उद्योग पूर्ण क्षमतामा चलाउन पनि आग्रह गर्नुभयो । अक्सिजन ढुवानी र वितरणलाई व्यवस्थित बनाउने भन्दै उहाँले आवश्यकता र विरामीको चापका आधारमा अक्सिजन पाउने व्यवस्था गर्ने पनि बताउनुभयो । यस्तै प्रधानमन्त्री ओलीले देशमा अस्थिरता चाहनेहरुले भ्रम फैलाइरहेको आरोप लगाउनुभयो । उहाँले सरकार बनाउन नसक्नेहरुले अरूको सरकारलाई प्रतिगमन देख्ने ? भन्दै आक्रोश प्रकट गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतर्फ इङकित गर्दै उहाँले प्रतिगमन भइरहेको छ भनेर मुलुकमा अस्थिरता खडा गर्न खोजेको आरोप लगाउनुभयो । कार्यक्रममा नवनियुक्त मन्त्रिहरू र सरकारका उच्च कर्मचारीको सहभागिता थियो ।













