सरकारमाथि हिलो छ्याप्ने काम भयोः प्रधानमन्त्री ओली
२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भइरहेको बताउनु भएको छ ।
प्रतिनिधि सभामा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले नभएका कनेक्शन अनैतिक ढङ्गले देखाउने खालका क्रियाकलाप भइरहेको बताउनुभयो । उहाँले कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्ने अहिलेको आवश्यकता रहेको भए पनि कसरी हुन्छ सरकारलाई असफल बनाउने खेल सुरु भएको टिप्पणी गर्नुभयो । एउटा पनि पीसीआर परीक्षण गर्ने क्षमता नभएको नेपालमा ८६ ठाउँमा पीसीआर परीक्षण गर्न सरकार सफल भएको भन्दै उहाँले पहिलो लहरको कोरोना संक्रमण नियन्त्रण गर्न सरकार सफल भएको दाबी गर्नुभयो । यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यापारी घराना पोस्नका लागि प्रधानमन्त्रीले जनताको स्वास्थ्य जोखिममा राखेको आरोप लगाउनुभएको छ । खोप खरिदमा कमिसनको विषयले जनताको स्वास्थ्यप्रति सरकार कति जिम्मेवार छ भन्ने अनुमान लगाउन सकिने उहाँको भनाइ छ । देउवाले प्रधानमन्त्री भ्रष्टाचार नियन्त्रणमा रुचि नभएको ठहर पनि गर्नुभयो । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धन तथा विकास र समृद्धिलाई तोड्ने काम प्रधानमन्त्री स्वयम् गरेको बताउनुभएको छ । प्रचण्डले पार्टीभित्रको आन्तरिक विवादले सिङ्गो देश र समाजलाई आक्रान्त हुने गरी सार्वभौम संसद्लाई प्रधानमन्त्री ओलीले विघटन गरेर आफ्नो दम्भ र अहङ्कार देखाएको टिप्पणी गर्नुभयो । यता जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफुहरु अभैmपनि भेदभावमा परेको बताउनुभयो । संविधान संशोधनको मुद्धा अहिलेसम्म पनि पुरा नभएको ठाकुरले जिकिर गर्नुभयो ।













