न्युरेनी चिसापानी सामुदायिक वनको साधारणसभा सम्पन्न

स्वर्णिम खबर
१० पुष २०८२, बिहीबार १५:१२

१० पुस, हेटौँडा । हेटौँडा–७ स्थित न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहको ३५ औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
समूहका अध्यक्ष प्रकाश कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौँडा–७ का वडा अध्यक्ष दामोदर गौतम प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा अध्यक्ष कार्कीले अध्यक्ष र सचिवको संयुक्त संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने समूहकी कोषाध्यक्ष सरीता नेगीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । साधारणसभामा समूहका पूर्व अध्यक्ष जनार्दन पौडेल, रघु प्रसाद आचार्य, वन संरक्षणकर्ता देव कुमारी अर्याल , राम बहादुर पाख्रिनका साथै ज्येष्ठ उपभोक्ताहरु ज्ञानुदेवी आचार्य , विष्णुप्रसाद चौलागाईलाई पुरस्कृत गरिएको थियो ।
समूहले खाली रहेको जमिनको सदुपयोग गर्दै हर्बल पार्क निर्माण गरेको जानकारी दिइएको छ । डिभिजन वन कार्यालयबाट प्राप्त ६ लाख रुपैयाँ बजेट तथा जनश्रमदानबाट निर्माण गरिएको उक्त हर्बल पार्कमा कागती, विभिन्न फलफूलका बिरुवा तथा १५ प्रजातिका जडीबुटी रोपिएको छ । त्यसैगरी समूहले भू तथा जलाधार व्यवस्थापन कार्यालयको ५ लाख रुपैयाँ आर्थिक सहयोगमा तीन स्थानमा रिचार्ज पोखरी निर्माण गरेको छ । यसका साथै बालउद्यान निर्माण, अग्निरेखा निर्माण तथा वन क्षेत्र सरसफाइ जस्ता कार्यहरू निरन्तर रूपमा गर्दै आएको समूहले जनाएको छ । चालु आर्थिक वर्षमा समूहले १० हेक्टर क्षेत्रफलमा थिनिङ कार्य, पाँचै वटा ब्लकबाट दाउरा संकलन, कम्पोष्ट सेट घर निर्माणका लागि दातृ निकायसँग समन्वय लगायत १६ वटा प्रमुख कार्ययोजना तय गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
वन संरक्षण र संवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै समूहले हालसम्म चार पटक जिल्लास्तरीय वन संरक्षण पुरस्कार, डिभिजन स्तरीय उत्कृष्ट सामुदायिक वन द्वितीय पुरस्कार तथा सर्वमान्य गणेशमान सिंह वन संरक्षण पुरस्कार २०७३ तृतीय प्राप्त गरिसकेको छ । ७१ दशमलव ३० हेक्टर क्षेत्रफलमा फैलिएको यस सामुदायिक वन उपभोक्ता समूहमा हाल २ सय ८७ घरधुरी आबद्ध रहेको सचिव कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रबंशी, सामुदायिक वन उपभोक्ता उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, सव डिभिजन वन कार्यालय, हेटौडाका वन अधिकृत बच्चुराम पुडासैनी , रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, सल्लाहकार जनार्दन पौडेल, रघु प्रसाद आचार्य, ज्ञानु क्षेत्री, प्रहरी चौकी चौघडाका इन्चार्ज, वन समूहमा आबद्ध सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*