नेपाल चिकित्सक संघ मकवानपुर शाखाको नवनिर्वाचित कार्यसमिति सपथ ग्रहण

स्वर्णिम खबर
९ पुष २०८२, बुधबार २०:५८

९ पुस, हेटौँडा । नेपाल चिकित्सक संघ मकवानपुर शाखाको पुरानो कार्यकारिणी समितिको बिदाइ तथा नवनिर्वाचित कार्यकारिणी समितिको प्रमाणपत्र वितरण, सपथ ग्रहण तथा स्वागत कार्यक्रम गरिएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा बुधबार हेटौंडा अस्पतालको सभाहलमा कार्यक्रम भएको हो । कार्यक्रममा पुस १ गते निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि डा. ज्ञवालीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने प्रमुख निर्वाचन अधिकृत अमर सिंह अधिकारीले पद तथा गोपनीयताको सपथ गराउनुभयो । नेपाल चिकित्सक संघ मकवानपुर शाखाको अध्यक्षमा हरिबहादुर खड्काको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको थियो ।
कार्यक्रममा अघिल्लो कार्यकालमा संघको नेतृत्व गर्दै आएका कार्यकारिणी समिति सदस्यहरूको योगदानको कदर गर्दै बिदाइ तथा सम्मान समेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति डा. ज्ञवालीले चिकित्सकको पेशा आम नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको भएकाले जिम्मेवारीपूर्ण ढंगले काम गर्नुपर्ने बताउनुभयो ।
सरकारको नीति, नियम र कानुनी दायराभित्र रहेर चिकित्सकहरूले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पछिल्लो समय चिकित्सकमाथि चौतर्फी आक्रमण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले कार्यक्षेत्रमा जानाजानी गल्ती गरेको प्रमाणित भए कारबाही हुनुपर्ने तर जिम्मेवारीपूर्वक काम गर्दा घटेका घटनामा चिकित्सकमाथि मात्रै दोष थोपर्ने प्रवृत्ति स्वीकार्य नहुने बताउनुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरूले चिकित्सकहरूको पेशागत हकहित संरक्षण, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि तथा समाजप्रति चिकित्सकको जिम्मेवारी अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याएका थिए । नवनिर्वाचित अध्यक्ष हरिबहादुर खड्काले संघलाई संस्थागत सीमाभन्दा बाहिर लैजाँदै आम जनतामाझ पहिचान स्थापित गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको निन्दा गर्दै उपचारका क्रममा बिरामीको मृत्यु भएमा चिकित्सकमाथि मात्रै दोष थोपर्ने प्रवृत्तिप्रति दुख व्यक्त गर्नुभयो । चिकित्सकका गल्ती भए मेडिकल काउन्सिल र उपभोक्ता अदालतमार्फत कानुनी प्रक्रिया अपनाउन सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाईं, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, हेटौंडा अस्पताल सञ्चालन समितिका पूर्व अध्यक्ष प्रकाश पौडेल लगायतले मन्तव्य राखेका थिए ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र सापकोटा, सचिवमा राजु सेढाईँ कोषाध्यक्षमा प्रतिक्षा खड्का, सहसचिवमा मधु पौडेल तथा सहकोषाध्यक्षमा डा. आयुष पौडेल उपाध्याय निर्विरोध निर्वाचित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*