भुटनदेवी माविका निजी स्रोतका शिक्षक र कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध
९ पुस, हेटौँडा । देशकै पहिलो सामुदायिक विद्यालयको रूपमा हेटौंडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले निजी स्रोतमा कार्यरत् १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ ।
दुई शैक्षिकसत्र पुरा गरेका शिक्षक तथा कर्मचारीहरुलाई विद्यालयले सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हो । बुधबार एक औपचारिक कार्यक्रम गरी जिफण्ट केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले कोषमा आबद्ध ६ जना शिक्षक र ७ जना कर्मचारीलाई परिचयपत्र (कार्ड) वितरण गर्नुभएको हो । कोषको लागि विद्यालयले छुट्टै कोष बनाएको र त्यसमा हरेक वर्ष रकम जम्मा गरिने विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
विद्यालयमा शिक्षक टिकाउन र भविष्यको सुुनिश्चित्त गर्न कोषको अवधारणा ल्याइएको उहाँले बताउनुभयो । कोषमा विद्यालयको तर्फबाट २० प्रतिशत र कर्मचारीहरुको तर्फबाट ११ प्रतिशत रकम जम्मा गरिने ४ नं. वडा अध्यक्ष एवम् व्यवस्थापन समितिका अध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।
अध्यक्ष सिग्देलले विभिन्न चरणमा छलफल गरी निश्चित मापदण्ड बनाएर कोषमा आबद्ध गराइएको बताउनुभयो । कोषमा आबद्ध गराउनु मात्र ठुलो नभई टिकाई राख्नु ठुलो भएको उहाँको भनाई छ । अध्यक्ष सिग्देलले सामाजिक सुरक्षा कोष ३६ सालमा भएको शिक्षक आन्दोलनको उपलब्धि भएको धारणा राख्नुभयो ।
त्यसैगरी कार्यक्रममा जिफन्टका केन्द्रिय अध्यक्ष श्रेष्ठले हालसम्म २७ लाख श्रमिकलाई कोषमा आबद्ध भएको बताउनुभयो । यो वर्षदेखि ६० वर्ष उमेर हद नाघेको श्रमिकले पनि पेन्सन पाएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष श्रेष्ठले कोषको विषयमा अझै पनि श्रमिक, रोजगारदाता, सरकारलाई पनि बुझाउन नसकिएको जिकिर गर्नुभयो ।
चुनावी घोषणापत्र मै सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता व्यक्त गर्नेहरुले नै अलमलमा पर्ने गरेको उहाँले बताउनुभयो । अध्यक्ष श्रेष्ठले काम गर्न सुरु गरेको पहिलो दिन देखि नै कोषको सेवा सुविधा पाउनुपर्ने आफुहरुको माग रहेको जिकिर गर्नुभयो ।
विद्यालय प्रशासनले सीमित स्रोतका बाबजुद पनि मानव संसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै यो ऐतिहासिक निर्णय लिएको स्पष्ट पारेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवम् १० नं. वडा अध्यक्ष फुर्वा दोर्जे लामा, १५ नं. वडा अध्यक्ष सुनिल मोक्तान, लगायत शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो ।













