मकवानपुर–१ बाट राप्रपाका दीपक सिंह एकल सिफारिस
८ पुस, हेटौँंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–१ बाट दीपक बहादुर सिंहको एकल नाम सिफारिस भएको छ ।
राप्रपा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिको बैठकले मंगलबार प्रत्यक्षतर्फ सिंहको एकल नाम सिफारिस गरेको हो । पार्टीको संसदीय समितिको २०८० मंसिर २८ गतेको निर्णय बमोजिम निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिको बैठकले उम्मेदवारहरूको नामावली टुंगो लगाई जिल्लामा सिफारिस गरेको हो । समानुपातिकतर्फ आदिवासी जनजाति, महिला, दलित, खस÷आर्य तथा उत्पीडित–पिछडिएको वर्गको प्रतिनिधित्व हुने गरी विभिन्न नाम सिफारिस गरिएको जनाएको छ । सिफारिस सूचीमा समानुपातिक जनजाति महिला तर्फ सरस्वती कुमारी थिङ र मनिषा स्याङतान, समानुपातिक खस आर्य तर्फ उमेश थापा र नवराज थपलिया, समानुपातिक महिला तर्फ हिराकुमारी भट्ट र हिरा चौरेल, आदीबासी जनजाति तर्फ अरुण लामा, मनोजकुमार मोक्तान र बालकृष्ण श्रेष्ठ, दलित तर्फ सन्देश परियार र दिपु सुनार, उत्पिडित तथा पिछडिएका तर्फ शुक्रराज प्रजाको नाम रहेको छ ।













