निर्मल माविले ५ दिनसम्म स्वर्ण महोत्सव मनाउने
६ पुस, हेटौँडा । हेटौडा उपमहानगरपालिका वडा नं. १९ स्थित श्री निर्मल माध्यमिक विद्यालयले आफ्नो ५० औं वार्षिकोत्सव एवम् स्वर्ण महोत्सव ५ दिनसम्म मनाउने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै विद्यालयले पुस ८ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी स्वर्ण महोत्सव मनाउन लागेको जानकारी दिएको हो ।
विद्यालय गीत र डकुमेन्ट्री सार्वजनिक, स्मारक स्तम्भ अनावरण, निर्मल स्मारिका प्रकाशन, शिक्षक र विद्यार्थी प्रतियोगिता, स्वास्थ्य शिविर, रक्तदान, लोकदोहरी कार्यक्रम लगायत १६ वटा विविध गतिविधिहरू हुने विद्यालयका प्रधानाध्यापक प्रबोध बिडारीले जानकारी दिनुभयो । महोत्सवको पहिलो दिन पुस ८ गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समद्घाटन स्तम्भ अनावरण, विद्यालय गीत र डकुमेन्ट्री सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक बिडारीले बताउनुभयो ।
समारोह सम्पन्न गर्न विद्यालयले ५० लाख खर्च लाग्ने अनुमान गरेको छ । स्वर्ण महोत्सव समापन पुस १२ गते बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले गर्नुहुनेछ । पूर्व विद्यार्थीहरुबाट २५ लाख, १९ नं. वडाबाट ५ लाख, मनहरी गाउँपालिकाबाट २ लाख सहयोग प्राप्त भएको र हेटौंडा उपमहानगरपालिकाबाट ५ लाख प्राप्त हुने उहाँले बताउनुभयो ।
विद्यालयले २० लाखको अक्षयकोष समेत स्थापना गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । प्रधानाध्यापक बिडारीका अनुसार महोत्सवको लागि काठमाडौँ जिल्लाका ५ वटा नगरपालिकाको पनि सहयोग रहेको छ । पत्रकार सम्मेलनमा हेटौंडा १९ का वडा अध्यक्ष नरनाथ सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओली, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगर, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो । विद्यालयमा हाल १ हजार ३ सय विद्यार्थी अध्ययनरत् छन् ।













