सर्वोत्तम सहकारीले साधारणसभासंगै प्रदर्शनी मेला गर्ने

स्वर्णिम खबर
२४ मंसिर २०८२, मंगलवार १८:५१

२३ मंसिर, हेटौँडा । सहकारी क्षेत्रप्रति सर्वसाधारणको विश्वास कमजोर कमजोर बन्दै गएको बेला हेटौडा ८ स्थित श्री सर्वोत्तम संचिती सहकारी बचत तथा ऋण सहकारी संस्थाले भने सेयर सदस्यको मन जित्न सफल हुँदै आएको छ ।
उत्पादनमूखी सहकारीको रुपमा अघि बढ्दै आएको यस संस्थाले दैनिक आवश्यकताका उपभोग्य वस्तु उत्पादन गर्दै आएको छ । ‘मेरो उत्पादन, म उपभोक्ता सिद्धान्त’ लाई आधार बनाएर सहकारीले कोदो, फापर, चामल, तेल, बेसार, पिठो, दालसहित ६४ प्रकारका उपभोग्य वस्तु उत्पादन गर्दै आएको छ ।
साथै, पशु आहारसमेत उत्पादन गरिरहेको छ । सहकारीका अध्यक्ष रामबहादुर बस्नेतका अनुसार सदस्यको खेर जाँदै आएको श्रम तथा समयको सदुपयोग गर्दै उनीहरूलाई व्यवसायमुखी बनाउने, उपभोग्य वस्तुमा सहुलियत दिलाउने र समूहगत समन्वय मार्फत आत्मनिर्भरता बढाउने उद्देश्यसहित सहकारी अघि बढिरहेको छ । यसैबीच, सहकारीले उत्पादन गर्ने सामग्रीहरूको मंसिर २६ र २७ गते विशेष प्रदर्शनी तथा छुट मूल्यमा बिक्री गर्ने भएको छ ।
हेटौडा–८ स्थित शुभम् पार्टी प्यालेसमा आयोजना हुने उक्त कार्यक्रमका साथै सहकारीको १९ औं साधारण सभाको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुहुने मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

प्रदर्शनीमा सहकारीका तर्फबाट ४०, महिला समूहका ६ तथा रैथाने परिकारका २ र अन्य गरी कुल ५० वटा स्टल रहनेछन् । कार्यक्रमका दिन सहकारीले स्थानीय जडिबुटीबाट तयार गरिएको विशेष चिया निशुल्क वितरण गर्नेछ । प्रदर्शनीमा ३० हजारले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ । सहकारीले उत्पादन क्षेत्रमा प्रवेश गर्दा सफल हुन सकिन्छ भन्ने सन्देश प्रवाका लागि प्रदर्शनी आयोजना गरिएको सहकारीका अध्यक्ष बस्नेतले बताउनुभयो ।
सहकारीमा आवद्ध महिलाहरूले ‘एक समूह–एक उत्पादन’ अभियानअनुसार नियमित रूपमा उत्पादनमूलक कार्य सञ्चालन गर्दै आएका छन् । हाल ६ वटा महिला समूहले छुट्टाछुट्टै सामग्री उत्पादन गरिरहेका छन् । उत्पादनमा सहभागी महिलाका अनुसार यसले उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याएको छ । सहकारीले महिला समूहलाई तालिम, उपकरण, कच्चा पदार्थ तथा बजार व्यवस्थापनमा निरन्तर सहयोग गर्दै आएको छ ।
सहकारीले २०९० सालदेखि सेयर सदस्यलाई पेन्सन दिने योजना पनि अघि सारेको छ । सहकारीमा हाल ३ हजार ९ सदस्य रहेका छन् । सक्रिय सदस्य संख्या ३ हजार ५ सयभन्दा नबढाउने नीति संस्थाले अवलम्बन गरेको छ । सहकारीले हेटौंडा ४ र ८ नं. वडामा सुपथ मुल्यमा किराना पसल सञ्चालन समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*