अपाङ्गता भएको व्यक्तिको ३४ औं अन्तराष्ट्रिय दिवस मनाईयो

स्वर्णिम खबर
१८ मंसिर २०८२, बुधबार १८:४७

१६ मंसिर, हेटौँडा । अपाङ्गता भएको व्यक्तिको ३४ औं अन्तराष्ट्रिय दिवसको अवसरमा हेटौंडामा विविध कार्यक्रम गरिएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम, सार्वजनिक यातायातमा सचेतनामूलक स्टिकर टाँसका साथै प्रदेश राजधानीका सार्वजनिक स्थान अपाङ्गमैत्री भएनभएको बारेमा डेमो प्रदर्शनी गरिएको थियो । हेटौंडाको बुद्धचोकमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको बागमती प्रदेश अध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै, सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि राज्यले दिएको सहुलियत कार्यान्वयन गराउन सचेतनामूलक स्टिकर टाँसिएको छ । अपाङ्गता ऐन २०७४ को दफा ३७ को उपदफा २ र ज्येष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा २ अनुसार अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गाडी भाडामा ५० प्रतिशत छुट पाउनुपर्ने व्यवस्था छ ।


यही व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि दुई सय वटा सार्वजनिक यातायात र टिकट काउन्टरमा स्टिकर टाँस गरिएको हो । महासंघले तोकिएबमोजिम भाडा छुट नपाएमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्न आग्रह गरेको छ । नारायणी यातायात व्यवसायी संघ र जिल्ला ट्राफिक कार्यालय लगायतको उपस्थितिमा हेटौंडा बसपार्कका सार्वजनिक यातायातमा स्टिकर टाँस्ने कार्य गरिएको महासंघ अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसैगरी, सार्वजनिक स्थानहरु अपाङ्गता मैत्री भएनभएको बारेमा जानकारी डेमो प्रदर्शनी गरिएको थियो ।
बत्तीको पोल, सडक छेउका रुख र पसलका सामग्रीहरूले गर्दा अपाङ्गता भएका व्यक्तिलाई हिडडुलमा समस्या भएको, अपांगता भएका ग्राहकलाई पसल व्यवसाय लगायतका सार्वनजिक स्थानमा हुने व्यवहारलाई पनि डेमोको रुपमा प्रदर्शन गरिएको थियो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव अमृत अधिकारीको प्रमुख उपस्थितिमा डेमो कार्यक्रम गरिएको हो । यसका साथै, महासंघले मंगलबार दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन समेत गरेको थियो । यस वर्ष “अपाङ्गता समावेशी समाजको प्रवद्र्धन, सामाजिक उन्नतिको सम्बद्र्धन” भन्ने नाराका साथ देशभार अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*