राप्रपा मकवानपुर क्षेत्र नं. १ मा पदाधिकारी बाँडफाँड

स्वर्णिम खबर
७ मंसिर २०८२, शनिबार १७:५५

६ मंसिर, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नम्बर १ ले नयाँ पदाधिकारी चयन गर्दै कार्यसमितिको जिम्मेवारी औपचारिक रूपमा बाँडफाँड गरेको छ ।
राप्रपा जिल्ला पार्टी कार्यालय मकवानपुरमा बसेको बैठकले अध्यक्ष उमेश थापाको नेतृत्वमा क्षेत्रीय कार्यसमितिको संरचना पूर्णता दिएको हो । बैठकमा पार्टीभित्र संगठन सुदृढीकरण, आगामी राजनीतिक गतिविधि तथा क्षेत्रीय नीतिगत तयारीसम्बन्धी विषयमा पनि छलफल गरिएको थियो ।
बैठकको निर्णयअनुसार क्षेत्र नम्बर १ का पदाधिकारीहरू यसप्रकार छन्, अध्यक्षमा उमेश थापा, वरिष्ठ उपाध्यक्षमा मुरारी पौडेल, उपाध्यक्षमा भीमाकुमारी स्याङ्बो, सचिवमा संगीन श्रेष्ठ, कोषाध्यक्षमा विकास दुलाल र सह–सचिवमा मनोज मोक्तान जिम्मेवारीमा चयन गरिएको छ। नयाँ कार्यसमितिले जिल्लाभित्र संगठनात्मक वृद्धि, जनसंपर्क विस्तार र पार्टी नीति कार्यान्वयनलाई प्राथमिकता दिने जनाएको छ ।
पदाधिकारी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष उमेश थापाले देशको वर्तमान राजनीतिक अवस्थाले जनताको भरोसा गुमाएको टिप्पणी गर्नुभयो । उहाँले २०७२ सालको संविधान कार्यान्वयनको दशक बितिसक्दा पनि शासन व्यवस्थामा स्थिरता, सुशासन र आर्थिक प्रगतिका ठोस परिणाम नदेखिएको बताउनुभयो ।
कार्यक्रममा सहभागी अन्य नेताहरूले नयाँ पदाधिकारीले संगठनलाई गाउँ–गाउँसम्म विस्तार गरी पार्टीप्रतिको विश्वास पुनःस्थापित गर्ने अपेक्षा व्यक्त गरेका छन् । राप्रपा मकवानपुर क्षेत्र नम्बर १ ले निकट भविष्यमा विस्तारित बैठक, प्रशिक्षण कार्यक्रम र जनसंपर्क अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पार्टीका अनुसार आगामी चरणमा वडा तथा टोलस्तरमा संगठन विस्तारलाई तीव्र बनाइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*