हेटौंडा १६ का हाइटेन्सन पिडितले उर्जामन्त्री घिसिङलाई भेटे
४ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–१६ हटिया क्षेत्रका हाइटेन्सन लाइन प्रभावित स्थानीयले प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै उर्जा, जलश्रोत तथा सिचाई मन्त्री कुलमान घिसिङलाई भेट गरेका छन् ।
बेलीब्रीज हस्तान्तरण कार्यक्रममा सहभागी हुन हेटौंडा आउनुभएका मन्त्री घिसिङलाई भेटेर उनीहरूले मानव बस्ती, खेतीयोग्य जमिन तथा निजी सम्पत्तिमाथि टावर पर्ने भएकाले प्रसारण लाइन करिब ५०० देखि ८०० मिटर दक्षिणतर्फ सार्नुपर्ने माग गरेका हुन् । स्थानीयले विकल्प हुँदाहुँदै दशकौँदेखि बसोबास गर्दै आएको बस्तीमाथि टावर राख्न खोज्नु अन्यायपूर्ण भएको भन्दै पुनः सर्भे गरी वैकल्पिक मार्गबाट लाइन लैजानुपर्ने धारणा राखेका थिए । छलफलका क्रममा मन्त्री घिसिङले वैकल्पिक स्थानबाट प्रसारण लाइन लैजान सम्भव नभएको स्पष्ट पार्दै पहिले नै सर्भे गरिएको रेखाङ्कन अनुसारै काम अघि बढ्ने जानकारी दिनुभयो । प्रसारण लाइन विस्तार अवरुद्ध हुँदा राज्यले वर्षौँदेखि अर्बौँको क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उहाँले वैकल्पिक मार्गको सम्भावना नभएकाले प्रभावितलाई सम्भव भएसम्म उचित क्षतिपूर्ति दिलाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सरकारले कसैलाई पनि सुकुम्बासी बन्न नदिने आश्वासन समेत उहाँले दिनुभयो ।
त्यसैगरी हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले प्रसारण लाइन विस्तार राज्यको प्राथमिकता भएकाले स्थानीय सुकुम्बासी बन्ने अवस्था आउन नहुने बताउनुभयो । उचित मुआब्जा लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी, प्राधिकरणका योजना प्रमुख, जनप्रतिनिधि तथा स्थानीयसँग पुनः छलफल आवश्यक रहेको उहाँको भनाई छ ।
२ सय ८८ किलोमिटर लामो हेटौंडा–ढल्केवर–दुहबी ४०० केभी प्रसारण लाइन परियोजनाअन्तर्गत ढल्केवर–बकैया खण्डको काम सकिएको छ । हेटौंडा क्षेत्रका केही भागमा आधा काम पूरा भइसके पनि हेटौंडा–१५, १६ र १७ का स्थानीयको अवरोधका कारण हटिया क्षेत्रमा मात्रै १४ टावर निर्माण रोकिएको नेपाल विद्युत् प्राधिकरणका हेटौंडा–ढल्केवर–इनरुवा प्रसारण आयोजना निर्देशक श्यामकुमार यादवले बताउनुभयो । छलफलमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, वडा १६ का अध्यक्ष रामकृष्ण कोइराला तथा हाइटेन्सन प्रभावित स्थानीयको उपस्थिति रहेको थियो ।













