सहिद बासुदेव घिमिरेका पितालाई मुख्यमन्त्री बानियाँले भेटे

स्वर्णिम खबर
२ मंसिर २०८२, सोमबार १८:२२

१ मंसिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले २०६२÷६३ को जनआन्दोलनका सहिद बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेसँग भेट गर्नुभएको छ ।
श्वासप्रश्वास सम्बन्धी समस्याका कारण लामो समयदेखि अस्वस्थ रहनुभएका ८७ वर्षीय घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले मुख्यमन्त्री बानियाँ उहाँकै निवास मकवानपुरगढी गाउँपालिका ५ पुग्नुभएको हो । मुख्यमन्त्रीलाई भेट्नासाथ सहिद पिता घिमिरेले छोरा बासुदेव घिमिरेको नाममा निर्माणाधीन प्रतिष्ठान छिटो पूरा गरिदिन आग्रह गर्नुभयो । आफूले छोराको अर्धकदको प्रतिमा सहितको प्रतिष्ठान सञ्चालनमा आएको हेर्ने ठूलो इच्छा रहेको बताउँदै घिमिरेले प्रतिष्ठानका लागि डेढ कठ्ठा जग्गा समेत उपलब्ध गराएको बताउनुभयो । हरेक निर्वाचनमा उम्मेदवारहरू आशीर्वाद लिन पुग्ने तर पछि वास्ता नगर्ने गरिएको सहिद पिताले गुनासो पनि गर्नुभयो ।
२०७६ सालबाट निर्माण सुरु भए पनि जग्गा विवादका कारण काम समयमा पूरा हुन नसकेको वडा अध्यक्ष दिपेश दाहालले बताउनुभयो । माघ १६ गते अगाडी नै काम सक्ने गरी अघि बढाउन मुख्यमन्त्री बाँनियाले संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठलाई निर्देशन दिनुभएको छ । अपुग बजेट प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । मुख्यमन्त्री बानियाँले सहिदहरुको योगदानले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताउँदैे सहिद सम्मानमा प्रदेश सरकार सदैव तयार रहेको बताउनुभयो । सहिद परिवारका लागि तत्काल रोजगारको अवसर उपलब्ध गराउनुका साथै सहिद परिवारको मुहारमा मुस्कान ल्याउन आवश्यक सबै सहयोग गर्ने आश्वासन पनि उहाँले दिनुभयो ।
सहिद बासुदेव घिमिरेको नाममा सुपारीटार ब्यारेकदेखि बुढीचौरसम्मको करिब ३५ किलोमिटर लामो सडक निर्माण गरिएको छ । जसको १४ किलोमिटरमा स्ल्याब ढलान पूरा भइसकेको छ । यस्तै, मकवानपुरगढी ५, आमभञ्ज्याङस्थित सहिद घिमिरेको घरनजिकको टोल पनि सहिद बासुदेव घिमिरे टोल विकास संस्था नामाकरण गरिएको छ । मकवानपुरगढी ५ मा जन्मिनुभएका सहिद बासुदेवको काठमाडौँको कलंकीमा प्रहरीको गोली लागेर ज्यान गएको थियो । बासुदेवका श्रीमती र एक छोरा हुनुहुन्छ । छोरा अध्ययनका लागि विदेशमा रहनुभएको छ भने श्रीमती काठमाडौंमा बस्दै आउनुभएको छ । सहिद पिता भने माइलो छोरासँग बस्दै आउनुभएको छ । सहिद माताको चार वर्षअघि निधन भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*