मकवानपुरका स्वास्थ्य संस्थामा सेवाग्राहीको संख्या बढ्यो

स्वर्णिम खबर
२५ कार्तिक २०८२, सोमबार १७:४१

२४ कार्तिक, हेटौँडा । मकवानपुर जिल्लाका सरकारी स्वास्थ्य संस्थामा दैनिक सेवाग्राहीको संख्या बढेको छ ।
पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक अनुसार जिल्लाका सरकारी अस्पताल र स्वास्थ्य केन्द्रमा बिरामीको चापमा उल्लेख्य वृद्धि भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरको वार्षिक समीक्षाअनुसार आर्थिक वर्ष २०७९÷८० मा दैनिक औसत ५ सय ५५ जना सेवाग्राही सरकारी अस्पतालमा उपचारका लागि पुग्ने गरेकोमा, गत आर्थिक वर्ष २०८१÷८२ सम्म यो संख्या ९ सय १० जनाभन्दा बढी पुगेको छ । कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार तीन वर्षमा अस्पतालमा आउने बिरामीको संख्या करिब ६५ प्रतिशतले बढेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक औसत सेवाग्राही ३५ दशमलव २ बाट ४५ दशमलव १ पुगेको छ भने स्वास्थ्य चौकीमा १२ दशमलव २ बाट १७ दशमलव ८ पुगेको छ । शहरी स्वास्थ्य केन्द्रमा ९ दशमलव १ बाट ९ दशमलव ४ र आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ९दशमलव ८ बाट ८ दशमलव ९ पुगेको छ । तर पोषण र नियमित खोप सेवा सञ्चालन हुने क्लिनिकमा भने सेवाग्राही घटेको देखिएको छ ।
आर्थिक वर्ष २०७९÷८० मा दैनिक २४ दशमलव ४ रहेका सेवाग्राहीको संख्या २०८१÷८२ मा १८मा झरेको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरूले दिने मासिक सेवाको औसत पनि बढेको छ । प्रतिमहिना ४७ बाट बढेर ५० दशमलव १ पुगेको जनाइएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य पूर्वाधार विस्तार, जनचेतना अभिवृद्धि र सेवा पहुँच सुधारका कारण अस्पताल र स्वास्थ्य संस्थामा सेवाग्राहीको संख्या बढेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*