सञ्चारकर्मीसंग प्याब्सनले भन्योः ‘विद्याथीको भविष्यसंग खेलबाड गर्ने हाम्रो मनसाय होइन’

स्वर्णिम खबर
१९ भाद्र २०८२, बिहीबार १९:१३

१९ भाद्र, हेटोँडा । आन्दोलनमा रहेका निजी विद्यालय सञ्चालकहरुले बिहिबार हेटौंडामा सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गरेको छ ।
संघीय संसद्मा प्रस्तुत भएको विद्यालय शिक्षा विधेयक २०८० मा समावेश भएका कतिपय प्रावधानहरुमा असन्तुष्टि जनाउँदै केन्द्रिय सर्कलुर बमोजिम निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरले अन्तरक्रिया कार्यक्रम गरेको हो । अन्तरक्रिया कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले शिक्षा विधेयकमा समावेश केही प्रावधानले निजी क्षेत्रको अस्तित्व र योगदानमाथि नै प्रश्न उठाएको बताउनुभयो । विधेयकले असमानजनक व्यवहार गर्ने तथा संस्थागत अस्थिरता सिर्जना गर्ने जोखिम बोकेको हुँदा निजी शैक्षिक क्षेत्र अन्तर्गतका विभिन्न संघसंस्थाहरु एकजुट भई आन्दोलनमा रहेको उहाँले बताउनुभयो ।
पछिल्लो समय प्याब्सनको आन्दोलन प्रति गलत भ्रम फैलाउने कोसिस भइरहेको भन्दै उहाँले असन्तुष्टि समेत व्यक्त गर्नुभयो । अध्यक्ष सुवेदीले आफुहरुको उद्देश्य विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य माथि खेलबाड गर्नु नरहेको स्पष्ट पार्नुभयो ।
यसैगरी प्याब्सन मकवानपुरका सल्लाहकार मदन दाहालले विधेयकमा व्यवस्था भएको पूर्ण छात्रवृत्तिको व्यवस्था, निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान प्रति आफुहरुको असन्तुष्टि भएको बताउनुभयो । २०५९ सालमा सरकारले बनाएको कानुन अनुसार नै निजी विद्यालयहरु कम्पनीमा गएको उहाँले बताउनुभयो । राज्यले नै दिएका सेवा सुविधाहरुलाई कानुन विपरीत कटौती गर्न नपाउने उहाँको धारणा छ । राज्यहरुले आफुहरुको लगानी सुनिश्चित गरिदिए निजी विद्यालयहरु राज्यले लिँदा फरक नपर्ने उहाँले बताउनुभयो । सल्लाहकार दाहालले सरकारी विद्यालयमा जत्तिकै लगानी निजी विद्यालयका विद्यार्थीलाई गर्ने हो भने छात्रवृत्तिका लागि आफूहरू तयार रहेको बताउनुभयो ।अन्तरक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो । प्याब्सनको आन्दोलन कार्यक्रम अन्तर्गत राजनीतिक दलहरुसंग भेटघाट गर्ने, निजी विद्यालयका सञ्चालकहरुलाई काठमाडौँमा केन्द्रित गर्ने लगायतका कार्यक्रमहरु रहेको छ । भाद्र २५ गते देशभरका निजी विद्यालयका सञ्चालक, प्रिन्सिपल, शिक्षक कर्मचारीहरुको अनिवार्य सहभागितामा काठमाडौँमा बृहत आन्दोलन गर्ने भएको छ । कार्यक्रममा प्याब्सन, एनप्याब्सन, हिसान, अपेनलगायत निजी विद्यालयका छाता संगठनहरूको सहभागिता थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*