राप्रपा मकवानपुर क्षेत्र नं. १ (ख) मा सापकोटाको नेतृत्व
२८ असार, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मकवानपुर जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ ‘ख’ अन्तर्गतको क्षेत्रीय अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ ।
अधिवेशनबाट देवनारायण सापकोटा क्षेत्रीय अध्यक्षमा निर्वाचित भएका छन् । अधिवेशनले सापकोटाको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
राप्रपा क्षेत्र नं. १ ‘ख’ को पहिलो कार्यसमितिको बैठकले दुई जना उपाध्यक्ष, एक जना सचिव, कोषाध्यक्ष र सहसचिवको जिम्मेवारी प्रदान गर्ने बताइएको छ । यसअघि अध्यक्ष सापकोटाले पार्टीको स्थानीय नेतृत्व तहमा संयोजकको भूमिका निर्वाह गरिसकेका छन् ।
अधिवेशनको उद्घाटन समारोह पूर्व अध्यक्ष उमेश थापाको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख आतिथ्य प्रतिनिधिसभा सदस्य दीपक बहादुर सिंहले गर्नुभएको थियो । राप्रपा केन्द्रीय सदस्यहरू, स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमकै अवसरमा विभिन्न राजनीतिक पार्टी परित्याग गरी १२० जना युवाहरू राप्रपामा औपचारिक रूपमा प्रवेश गरेका थिए। नयाँ सदस्यहरूको स्वागत गर्दै नेताहरूले राप्रपालाई वैकल्पिक शक्ति बनाउँदै लैजान युवा पुस्ताको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।













