चौलागाईको ४ वर्षे कार्यकाल सकियो
३ असार, हेटौँडा । प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको ४ वर्षे कार्यकाल सकिएको छ ।
२०७८ सालमा तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारको पालामा परिषद्को उपाध्यक्षमा नियुक्त भएका चौलागाईको कार्यकाल जेठ ३१ गते सकिएको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै गर्दै चौलागाईले आफ्नो कार्यकालमा भए गरेका कामको विषयमा जानकारी गराउनुभएको छ ।
परिषद्ले युवा पुस्तालाई प्रदेश सरकार र सरोकारवालासँग जोड्न सफल भएको उहाँले दाबी गर्नुभयो । आफ्नो कार्यकालमा ३ पटक सम्म युवा सम्मेलन गर्न सफल भएको समेत निवर्तमान उपाध्यक्ष चौलागाईले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेट वक्तत्वमा प्रदेश युवा परिषद्लाई खेलकुद विकास परिषद्मा गाभ्ने निर्णय सच्याउन समेत उहाँलेआग्रह गर्नुभएको छ ।
प्रदेश युवा परिषद्लाई अझ सशक्त बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता विपरित खेलकुद परिषद्मा गाभ्ने निर्णय कानूनीरुपमा पनि जटिल भएको उहाँको भनाइ थियो । प्रदेश युवा परिषद्मा रहेर ४ वर्षे कार्यकाल पूरा गर्दै गर्दा १० हजार भन्दा बढी युवालाई रोजगारमूलक तालिम प्रदान गरिएको, सयौं युवा स्वरोजगार भएको उहाँले उल्लेख गर्नुभयो ।
सरकार परिवर्तनको बेला एकपटक प्रदेश सरकारसँग केही असमझदारी भए पनि अदालतले पुनस्र्थापित गरेसँगै आफूलाई काम गर्न कुनै समस्या नभएको चौलागाईले स्पष्ट पार्नुभयो । चौलागाईंले २०७३ मा जिल्ला युवा समिती मकवानपुरको अध्यक्षको रुपमा एक कार्यकाल सम्हालिसक्नुभएको छ ।













