चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा
२७ जेठ, चितवन । चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
नारायणगढको लायन्सचोकस्थित केन्द्रमा रहेको सेन्टरबाट चितवनका युवाहरूलाई स्वास्थ्य क्षेत्रमा दक्ष बनाउँदै स्वदेश तथा विदेशमा रोजगारीका नयाँ अवसरहरू सिर्जना हुने विश्वास गरिएको केन्द्रको प्रमुख कार्यकारी अधिकृत सुवाष खड्काले बताउनुभयो ।
घरायसी र सहज वातावरणमा गुणस्तरीय तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य आफुहरुको रहेको उहाँको भनाई छ ।
‘पछिल्ला वर्षहरूमा नेपालमा केयर गिभर पेशाप्रति युवाहरूको आकर्षण बढ्दो छ । ’ खड्काले बताउनुभयो, ‘काठमाडौँस्थित मुख्य कार्यालयबाट हालसम्म ५ हजारभन्दा बढी प्रशिक्षार्थीलाई व्यावसायिक तालिम दिइसकेका छौं’ ।
तालिम लिएका अधिकांश प्रशिक्षार्थीहरू विदेशमा रोजगारी गरिरहेका समेत उहाँले जानकारी दिनुभयो । खड्काका अनुसार बेलायतस्थित सीपीडिएसओ बाट मान्यता प्राप्त भएकाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार तालिम सञ्चालन हुँदै आएको छ ।
हाल काठमाडौँ, इटहरी र चितवनमा फ्रेन्चाइजमार्फत तालिम सञ्चालन भइरहेको चितवन शाखाका प्रमुख ज्ञानबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँले प्रत्यक्ष कक्षा तथा अनलाइन दुवै माध्यमबाट तालिम लिने व्यवस्था गरिएको बताउनुभयो ।
तालिम अवधि ३९० घण्टादेखि १,२०० घण्टासम्मको हुनेछ । कक्षा ८ उत्तीर्ण गरेका व्यक्तिहरू सिटिभिटीको बेसिक कोर्समा सहभागी हुन सक्नेछन् । जुन सर्टिफिकेटले इजरायललगायत देशहरूमा जी–टु–जी कार्यक्रममार्फत रोजगारीको अवसर खुलाउनेछ । युरोप, अमेरिका लगायतका मुलुकमा जान चाहनेहरूको हकमा कक्षा १२ उत्तीर्ण अनिवार्य गरिएको छ, जसलाई लक्षित गरी सीपीडिएसओको एडभान्स कोर्स उपलब्ध गराइनेछ ।
चितवन शाखाका बजार प्रवद्र्धन प्रमुख सुसिल भट्टराईले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने यस्ता तालिम केन्द्रहरू अहिलेको आवश्यकता भएको बताउनुभयो । ‘चितवन जस्तो शहरीकरण तीव्र रूपमा बढिरहेको जिल्लामा यस्ता व्यावसायिक तालिमहरू अनिवार्यजस्तै छन्,’ उहाँले भन्नुभयो, ‘यस्ता केन्द्रहरूले वृद्धजन, अपांगता भएका व्यक्ति र स्वास्थ्य सेवा क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउनुका साथै विदेश रोजगारीमा जान चाहने युवाहरूलाई पनि आवश्यक सीप र ज्ञान प्रदान गर्छन् ।’
कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिका वडा नं २ का अध्यक्ष मनोज रानाभाटले यस्ता तालिम केन्द्रहरूले विदेश जाने युवालाई रोजगारीका लागि तयारी गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । ‘नेपालबाट जाने धेरै युवा स्वास्थ्य क्षेत्रको रोजगारीमा आकर्षित छन्,’ उहाँले भन्नुभयो, ‘यसले उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्न सहयोग गर्नेछ । वडा कार्यालयबाट आवश्यक सहयोग उपलब्ध गराइनेछ ।’ केन्द्र स्थापना भएको उपलक्ष्यमा मानव सेवा आश्रममा आश्रित वृद्धवृद्धाहरूलाई खाना खुवाउने कार्यक्रमसमेत सम्पन्न गरिएको थियो । वैदेशिक रोजगारीका सम्भावनासँगै चितवनमा नयाँ आशा पलाएको यस केन्द्रले वृद्धाश्रम, अपांगता भएका व्यक्ति र स्वास्थ्य सेवा क्षेत्रमा समेत दक्ष जनशक्ति उत्पादन गर्दै लैजाने अपेक्षा गरिएको छ ।














