प्रदेशको उच्च आर्थिक वृद्धिलाई नीति तथा कार्यक्रमले जोड दिएको छः नेता थपलिया

स्वर्णिम खबर
२१ जेष्ठ २०८२, मंगलवार १९:२०

२० जेठ, हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य भएको बताउनुभएको छ ।
मंगलबारको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै नेता थपलियाले प्रदेशको उच्च आर्थिक वृद्धि, वित्तीय सन्तुलन र सुशासनलाई नीति तथा कार्यक्रमले जोड दिएको बताउनुभयो । प्रमुख दुई दल मिलेर बनेको सरकारलाई प्रदेशलाई समृद्धिको दिशामा अगाडि बढाउनुपर्ने चुनौती रहेको उहाँले बताउनुभयो । नीतिगत एवम् संरचनागत सुधार गर्दै तीव्रगतिमा आर्थिक विकास गरेर तल्लो तहका जनतासम्म प्रतिफल पु¥याउनुपर्ने उहाँको भनाई छ ।
नेता थपलियाले पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास भइरहेको बताउनुभयो । गणतन्त्र पछिको १० वर्षको अवधिमा नेपाल अल्प विकसित राष्ट्रबाट स्तरोन्नति हुने चरणमा रहेको दाबी समेत उहाँले गर्नुभयो । नेता थपलियाले संघीयताकै कारण नागरिकहरुले आफ्नो माग, योजनाहरु प्रत्यक्ष रुपमा सरकारसंग राख्ने हैसियत प्राप्त गरेको जिकिर गर्नुभयो ।
नेता थपलियाले पूर्वाधार निर्माणमा एकद्वार प्रणाली लागु गर्ने, बहुवर्षीय योजनाको मापदण्ड निर्धारण गरी स्रोत सुनिश्चित गर्ने, क्रमागत योजनाहरुको प्राथमिकीकरण गर्ने, प्रदेश गौरवका योजनाहरु समयमै सम्पन्न गर्ने जस्ता राम्रा कामहरु नीति तथा कार्यक्रममा समावेश भएको दाबी गर्नुभयो ।
प्रदेश सरकार सानोतिनो योजनाहरुमा अलझिदा जनतामा निराशा पैदा हुने भएकोले त्यसतर्फ पनि सरकार सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । आयोजना छनौट र प्राथमिकीकरणमा निश्चित्त मापदण्ड लागु नहुदा स्रोत साधनको दुरुपयोग बढेको उहाँको भनाई छ । नेता थपलियाले राजनीतिक उद्देश्यको लागि प्रादेशिक अस्पताल घोषणा गर्न होडबाजी हुँदा भएकै प्रादेशिक अस्पताल लथालिङ्ग भएको उनले उल्लेख गर्नुभयो ।
नेता थपलियाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको समेत बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*