प्रदेश युवा सम्मेलन २०८२ सुरु

स्वर्णिम खबर
२८ बैशाख २०८२, आईतवार १४:५४

२८ वैशाख, हेटौँडा । प्रदेश युवा परिषद् बागमतीको आयोजनामा आइतबार देखि प्रदेश युवा सम्मेलन २०८२ सुरु भएको छ ।
वैशाख ३० गते सम्म ३ दिन चल्ने सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्नुभएको हो । उद्घाटन कार्यक्रम पूर्व विभिन्न भेषभुषा, साँस्कृतिक झाँकी, नेपाल प्रहरीको ब्यान्ड बाजा सहित हेटौंडाको बुद्धचोकबाट मुख्यमन्त्री लामा, प्रदेश सरकारका मन्त्रीहरु समेतको सहभागितामा प्रभातफेरी निकालिएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले सरकार र युवालाई एउटै थलोमा उपस्थित गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताउनुभयो । प्रदेश सरकारले युवाको क्षेत्रमा देखिने गरी काम गरेको समेत उहाँको भनाई छ ।


कार्यकारी उपाध्यक्ष चौलागाईले युवाहरुलाई प्रदेश देखि स्थानीय तहसम्मै नीति निर्माणमा उपस्थिति गराउनुपर्ने बताउनुभयो । प्रदेश सरकारले युवा ऐन निर्माण गरेर रणनीतिक योजनाका साथ काम गरिरहेको समेत उहाँले उल्लेख गर्नुभयो । कार्यकारी उपाध्यक्ष चौलागाईले कृषि प्रणालीलाई वैज्ञानिक र आधुनिकीकरण गर्न सम्मेलनलाई कृषिका विषयवस्तुलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । ६२ प्रतिशत युवाहरु कृषिमा संलग्न भएको अवस्थामा समेत निर्यात भन्दा पनि आयात धेरै हुनु दुःखद पक्ष भएको समेत उहाँले बताउनुभयो ।
सम्मेलनमा ७ वटै प्रदेशका ३ सय भन्दा बढी युवाहरुको सहभागिता रहेको छ । सम्मेलनमा कृषिमा नवप्रवर्तन र यूवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवा लगायतका विषयमा विज्ञहरुसँग प्यानल छलफल र कार्यशाला गोष्ठी आयोजना हुनेछन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*