निर्जीवन बीमाको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

स्वर्णिम खबर
१७ बैशाख २०८२, बुधबार १६:३९

१७ वैशाख, हेटौँडा । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले निर्जीवन बीमाको विषयमा बागमती प्रदेश सरकार र सरकारी निकायबीच अन्तरक्रिया कार्यक्रम गरेको छ ।
बीमा कम्पनीले गर्दै आएको कामकारबाहीका साथै प्रदेश सरकारसँगको अपेक्षाको विषयमा छलफल गर्ने उद्देश्यले हेटौंडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । बीमा कम्पनी लिमिटेडका अध्यक्ष दिनेश उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
मुख्यमन्त्री लामाले नेपाल सरकारको स्वामित्व प्राप्त राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सहकार्यका लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले सरकारी कार्यालयसँग सम्बन्धित बीमाको जिम्मेवारी सरकारी कम्पनीलाई नै दिनुपर्ने जिकिर गर्नुभयो । यसका लागि प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री लामाको भनाई थियो । कार्यक्रममा बागमती प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारको निर्जीवन बीमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडबाटै गराउनका लागि आवश्यक पहल थालनी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने, सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, खानेपानी उर्जा तथा सिँचाई मन्त्री श्याम खड्का, स्वास्थ्य मन्त्री किरण थापा, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङ, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको बारेमा बोर्ड सदस्य बोलराज आचार्यले जानकारी गराउनुभएको थियो । बीमा कम्पनी लिमिटेडको काम, कर्तव्य, अधिकारको विषयमा वीमा कम्पनीका डिसिइओ सुवास कोइरालाले प्रस्तुतीकरण गर्नुभएको थियो । राष्ट्रिय बीमा कम्पनी र प्रदेश सकारको बीचमा सहकार्यका लागि अन्तरक्रियाको आयोजना गरिएको अध्यक्ष दिनेश उपाध्यायले जानकारी दिनुभयो । कार्यक्रममा सरकारी निकायका विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*