कल्याणटार–हात्तीलेट जोड्ने सडकको स्ल्याब ढलान सुरु
१० वैशाख, हेटौँडा । हेटौडा–६ कल्याणटारमा कल्याणटार–हात्तीलेट जोड्ने सडकको स्ल्याब ढलान सुरु गरिएको छ ।
बुधबार बागमती प्रदेशका पूर्व मन्त्री एवं सांसद एकलाल श्रेष्ठले स्ल्याब ढलान कार्यको सुरुवात गर्नुभएको हो । स्ल्याब ढलानको शिलान्यास गर्दै पूर्वमन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र भित्र पूर्वाधार विकास लाई प्राथमिकता दिएको बताउनुभयो । तत्कालीन समयमा आफूले खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालय सम्हालिरहँदा ६ नम्बर वडालाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
६ नम्बर वडामा पुर्वाधार तर्फ सडक निर्माण, ६ र ७ नम्बरलाई जोड्ने खहरेमा बकस पुल र कल्याणटार बस्ती संरक्षणका लागि कर्रा करिडोर निर्माण र राजकुलो संरक्षणका साथै थुप्रै सिंचाइका योजनाहरुमा बजेट विनियोजन गरेको समेत सांसद् श्रेष्ठले बताउनुभयो ।
प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ को विनियोजित २० लाख बजेटबाट २३८ मिटर लम्बाइको स्ल्याब ढलान सुरु भएको निर्माण उपभोक्ता समितिको अध्यक्ष नारायण सापकोटाले बताउनुभयो ।
कार्यक्रममा ६ नम्बर वडाका सदस्य लेखराज ढकाल, समाजसेवी विश्वराज राई, गुरु सापकोटा, बिष्णु ढुंगाना, विष्णु चौलागाईं, केदार राई, बद्री राई, दिपक दुलाल लगाएत स्थानीय बासिन्दाको उपस्थिति थियो ।













