वैशाखको १२ वा १५ गतेदेखि बजेट अधिवेशन आह्वान हुन सक्छः मन्त्री लामिछाने

स्वर्णिम खबर
६ बैशाख २०८२, शनिबार १६:४५

६ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले बजेट अधिवेशन बोलाउने तयारी गरेको छ ।
शनिबार काठमाडौँमा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले सो जानकारी दिनुभएको हो । वैशाखको १२ वा १५ गतेदेखि बजेट अधिवेशन बोलाउने तयारीमा सरकार रहेको उहाँले बताउनुभयो । हिउँदे अधिवेशनमा विषयगत समितिबाट प्रतिवेदन सहित पारित भएर होल्ड भएका ४ वटा विधेयकहरुलाई बजेट अधिवेशनमा प्रदेशसभाबाट पारित गरिने समेत मन्त्री लामिछानले उल्लेख गर्नुभयो ।
मन्त्री लामिछानेले विपक्षी दलहरुले संसद् बैठकलाई चल्न नदिँदा विधेयकहरु अलपत्र परेको बताउनुभयो । मन्त्री लामिछानेले अबको प्रदेशसभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता लगायत नीति तथा कार्यक्रम माथि छलफल गरिने बताउनुभयो । प्रदेश सरकारको राजश्व पनि घटिरहेकोले अघिल्लो वर्षको भन्दा यर्थाथपरक बजेट ल्याउने उहाँले दाबी गर्नुभयो ।
मन्त्री लामिछानेले प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने र अपराध नियन्त्रण गर्ने कुरामा भुमिका बिहीन भएको गुनासो समेत गर्नुभयो । मन्त्री लामिछानेले संघीय कानूनहरु नबन्दा अहिले प्रदेश सरकारले पर्फमेन्स शुन्य देखिएको र नागरिकको नजरमा पनि प्रदेश सरकारको आवश्यकता नरहेको भन्ने भ्रम पैदा भएको बताउनभुयो । संघ सरकारले छिटो भन्दा छिटो संघीय कानून बनाएर प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्नुपर्ने उहाँको भनाई छ ।
मन्त्री लामिछानले जनताले प्रदेश सरकारको भुमिका देख्नको लागि संघ सरकारले जतिसक्दो छिटो कानून बनाइदिनुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*