बजेट अधिवेशनमा शिक्षकको माग सम्बोधन गर्न सम्भव छैनः सभामुख घिमिरे

स्वर्णिम खबर
३ बैशाख २०८२, बुधबार १६:४२

३ वैशाख, काठमाडौँ । सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षकहरुका माग सम्बोधन गर्न सम्भव नरहेको बताउनुभएको छ ।
बुधवार झापामा न्युज एजेन्सी नेपालका प्रतिनिधिसँगको कुराकानीका क्रममा सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेट सम्बन्धी विषयहरुलाई नै बढी प्राथमिकता दिनुपर्ने भएकाले शिक्षकहरुका माग सम्बोधन गर्नसक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले बजेट अधिवेशनमा शिक्षा विधेयकलाई एक नम्बरको बुँदामा राखि टुङ्ग्याएर अर्को विषयमा जान सम्भव नरहेको जिकिर गर्नुभयो ।
शिक्षा विधेयकलाई समेत ध्यानमा राखेर बजेट अधिवेशन केही छिटो बोलाइएको उहाँको भनाइ छ । सभामुख घिमिरे शिक्षा, निजामति, प्रहरी लगायतका विधेयकहरु प्राथमिकताका साथ आउने गरे पनि राजनीतिक दलहरुबीचकै मतभेदका कारण अवरोध हुने गरेको बताउनुभयो ।
सभामुख घिमिरेले शिक्षकहरुको माग पनि स्पष्ट नभएको बताउनुभयो । शिक्षकहरुले ऐन चाहियो भनेको तर ऐन बनाउने सरकार र संसदको कार्य भएकाले भने जस्तो तत्काल सम्भव नभएको उहाँको भनाइ छ । सभामुख घिमिरेले सरकारले ऐन बनाउन संसदको अधिवेशन समेत बोलाइसकेको अवस्थामा शिक्षकहरु वार्तामै नबस्ने भन्नु गैरजिम्मेवार भएको बताउनु भयो ।
एक सातासम्मको शान्तिपूर्ण मागमा सरकारले कुनै चासो नदेखाएपछि शिक्षकहरुले चैत २६ गतेदेखि शैक्षिक हड्ताल गरी आन्दोलनलाई थप तिब्रता दिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*