अहिलेको भुमि आयोग नै अन्तिम आयोग हुनेछः मन्त्री अधिकारी
३१ चैत्र, हेटौँडा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री वलराम अधिकारीले अहिलेको भुमि आयोग नै अन्तिम आयोग हुने बताउनुभएको छ ।
मकवानपुरको बकैया गाउँपालिकाका ५९ भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गर्नुहुँदै उहाँले भूमिहीन सुकुम्वासी समस्या हल गर्न सरकारले अन्तिम पटक आयोग बनाएर काम थालेको बताउनुभयो । मन्त्री अधिकारीले आफु मन्त्री हुँदा नै अन्तिम पटक भुमि आयोग बनाएर जनताको समस्या समाधान गर्ने अठोट लिएको समेत जिकिर गर्नुभयो ।
नमिलेका ऐन, कानुनहरुलाई मिलाएर भएर पनि आयोगलाई प्रभावकारी ढंगले अगाडि बढाउने उहाँले उल्लेख गर्नुभयो । मन्त्री अधिकारीले आयोगले गम्भीरताका साथ भूमिहीन नागरिकलाई भू–स्वामित्व उपलब्ध गराउने गरी काम गरिरहेको र भूमिहीन सुकुम्वासी समस्या अन्त्य गर्नेगरी सरकार अघि बढेको समेत दाबी गर्नुभयो ।

मन्त्री अधिकारीले अझै २८ वटा स्थानीय तहले भूमीहीनहरुको तथ्यांक नबुझाएको बताउँदै तथ्यांकमा छुटेकाहरुलाई समेट्ने गरि अन्तिम पटक सूचना निकाल्ने तयारी भैरहेको समेत बताउनुभयो ।
मन्त्री अधिकारीले बलियो सरकारको रूपमा रहेको स्थानीय तहले आफ्ना अधिकार क्षेत्र बमोजिम भूमिहीन सुकुम्वासी समस्या हल गर्न जग्गा नाप जाँचको काम समय अवधिभित्र सक्नुपर्ने बताउनुभयो । ऐनमा भएका व्यवस्थाअनुसार स्थानीय तहले प्रक्रियागत रूपमा विवरण भर्ने, निवेदन दर्ता गर्ने, जग्गा नाप जाँच गर्ने लगायतका काम गर्न उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका मुख्य सचेतक महेश वर्तौलाले १० लाख भूमीहीनका लागि ल्याइएको भूमिसम्बन्धी अध्यादेश निष्कर्षमा पु¥याउन नसकेकोमा दुख व्यक्त गनुृभयो ।
गाउँपालिकासँगको समन्वयमा भुमि समस्या समाधान आयोगले ४० जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र १९ अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गरिएको आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी दिनुभयो ।
मकवानपुर जिल्लामा करिब ३५ हजार भूमिहीन रहेका छन् ।













