अवकाश प्राप्त पूर्व प्रहरी कर्मचारी, अमर प्रहरी परिवार र बहालवाला प्रहरी लक्षित अटो रिक्सा तालिम सुरु

स्वर्णिम खबर
१८ फाल्गुन २०८१, आईतवार १९:०८

१८ फागुन, हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले अवकाश प्राप्त पूर्व प्रहरी कर्मचारी, अमर प्रहरी परिवार र बहालवाला प्रहरी लक्षित अटो रिक्सा तालिम सुरु गरेको छ ।
आइतबारबाट सुरु भएको तालिमको पहिलो समूहमा २७ जना सहभागि रहेका छन् । नेपाल प्रहरीमा योगदान गरेर अवकाश प्राप्त गरेका, सेवा अवधि ६ महिना बाँकी रहेका प्रहरी कर्मचारीको व्यक्तिगत जीवनलाई आर्थिक रुपमा संवृद्ध बनाउन तालिम आयोजना गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कृष्णहरी शर्माले बताउनुभयो ।
प्रहरी सेवामा आफ्नो उर्वर समय व्यतीत गरी राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेका प्रहरी कर्मचारीको अवकाशपछिको जीवन आत्मनिर्भर बनाउन आवश्यक सीप, ज्ञान उद्यमशिलता प्रदान गर्नु तालिमको उद्देश्य रहेको उहाँले बताउनुभयो । यस्ता तालिमले अवकाशपछि नेपाल प्रहरी कर्मचारीलाई स्वदेशमै स्वरोजगार बन्न प्रेरित गर्ने उहाँको भनाई छ ।
तालिम उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले यस्ता तालिमले सामाजिक जीवनलाई थप मर्यादित बनाउन मद्धत गर्ने विश्वास गर्नुभयो । तालिममा सिकेका सीपलाई अझ जिम्मेवार भएर व्यवहारमा उतार्न सहभागीहरुलाई उहाँले आग्रह गनुभयो ।
तालिममा अटो रिक्सा सञ्चालनको आधारभूत सैद्धान्तिक र प्रयोगात्मक सीप, यातायात नियमको बारेमा जानकारी, व्यवसायीक योजना बनाउन मार्गदर्शन र आयआर्जनका लागि प्रभावकारी उपायहरुका बारेमा कक्षा सञ्चालन हु्ने वरिष्ठ प्रहरी उपरीक्षक संजय सिंह थापाले जानकारी दिनुभयो ।
तालिम पश्चात् अटो खरीदका लागि पेन्सन पट्टा धितो राखेर क्रृण उपलब्ध गराउने व्यवस्था समेत मिलाईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रममा पत्रकार महासंघ बागमति प्रदेश अध्यक्ष कृष्ण सारु मगर, पूर्व प्रहरी संघ बागमती प्रदेश अध्यक्ष रीत बहादुर खाती लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*