कृषकको समस्यालाई तत्काल समाधान गर्न कृषि मन्त्रालयलाई शिक्षा समितिको निर्देशन
२८ वैशाख, हेटौँडा । कृषि मल अभाव र सभामुख रिक्तताको विषयमा बागमती प्रदेशसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले चासो व्यक्त गरेको छ ।
प्रदेशभर कृषकहरूले भोगिरहेका गुणस्तरीय बीउबिजन तथा रासायनिक मलको अभाव, वितरण व्यवस्थाको कमजोरी, कृत्रिम अभाव, कालोबजारी र समयमा आपूर्ति नहुँदा कृषि उत्पादनमै प्रत्यक्ष असर परेको विषय प्रति गम्भीर ध्यानाकर्षण भएको समितिले जनाएको छ । प्रदेशसभा सचिवालयमा बसेको बैठकले कृषकका समस्यालाई तत्काल समाधान गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रभावकारी कदम चाल्न निर्देशन दिने निर्णय गरेको समितिका सचिव प्रकाश चापागाईले जानकारी दिनुभयो ।
समयमा आवश्यक कृषि सामग्री उपलब्ध हुन नसक्दा खेती प्रणाली नै प्रभावित हुने, उत्पादन घट्ने र त्यसले समग्र खाद्य सुरक्षामाथि असर पार्ने अवस्था देखिएको समितिको ठहर छ । त्यसैगरी समितिले विशेषगरी दुर्गम तथा कृषिमा निर्भर क्षेत्रलाई उच्च प्राथमिकतामा राखी मल तथा बीउको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ ।
साथै हालसम्म मन्त्रालयले अवलम्बन गरेका प्रयास, वितरण व्यवस्थापनको अवस्था तथा आगामी दिनमा थप प्रभावकारी बनाउन चालिएका योजनाबारे समितिलाई विस्तृत जानकारी गराउन पनि निर्देशन दिने निर्णय गरिएको छ । त्यसैगरी सभामुख पद लामो समयदेखि रिक्त रहनु प्रदेश सभाको संस्थागत गरिमा र संसदीय अभ्यासका दृष्टिले गम्भीर विषय समितिले ठहर गरेको छ ।
रिक्त रहेको सभामुखको विषयमा मुख्यमन्त्री, उपसभामुख तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै संसदीय दलका नेताहरूलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको सचिव चापागाईले बताउनुभयो । असोज १ गतेदेखि सभामुख पद रिक्त रहँदा प्रदेश सभाको नेतृत्वविहीन अवस्था लम्बिँदै गएको र त्यसले संसदीय मूल्य, मान्यता, नैतिकता तथा लोकतान्त्रिक उत्तरदायित्वमाथि प्रश्न उठाएको समितिको भनाइ छ ।
सभामुख पद रिक्त हुँदा प्रदेश सभाको संस्थागत मर्यादा कमजोर बन्ने, निर्णय प्रक्रियामा अन्योल सिर्जना हुने तथा राजनीतिक रूपमा नकारात्मक सन्देश जाने अवस्था बनेको समितिको निष्कर्ष छ । राजनीतिक दलहरूबीच आवश्यक संवाद, सहमति र जिम्मेवार पहलकदमीमार्फत यथाशीघ्र सभामुख पदको निर्वाचन सम्पन्न गरी प्रदेश सभाको संस्थागत मर्यादा तथा जनविश्वासलाई थप सुदृढ बनाउन समितिले आग्रह गरेको छ ।












